बारा, पर्सा र रौतहट जिल्लाका अतिरिक्त भारी संख्यामा भारतीय नागरिकहरुले हवाई यात्रा गर्ने सिमरा विमानस्थलको अवस्थामा सुधार गर्न सरकारले बजेट दिएको छ । नागरिक उड्डयन प्राधिकरणले बाराको सिमरा विमानस्थलको स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट् याक्सी–वे तथा एप्रोन (पार्किङ) निर्माण तथा विस्तारका लागि ९६ करोड ७३ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये सिमरा विमानस्थलको भागमा ५ करोड २४ लाख रुपैयाँ परेको हो । सिमरा विमानस्थलको ट्याक्सी–वे ओभरले र विमानस्थल सुरक्षाका लागि तार–बार गर्नका लागि ५ करोड २४ लाख ४४ हजार रुपैयाँ छुट्याइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।
प्राधिकरणका अनुसार सिमरा विमानस्थलमा गत आर्थिक वर्ष २०७९/८० मा भने १० करोड १६ लाख ४१ हजार रुपैयाँको लागतमा सम्झौता भएको थियो । सिमरा विमानस्थलबाट हवाई यात्रा गर्नेहरुको चाप अत्यधिक रहे पनि विमानस्थलको स्तर कमजोर छ । मधेश प्रदेशमा ३ वटा विमानस्थल रहेका छन् । सिमरा, जनकपुरधाम र राजविराज विमान स्थल मध्ये सबै भन्दा पछि नियमित उडान सुरु भएको राजविराज हो । प्रदेशको राजधानी जनकपुरधामबाट दैनिक ८ वटा भन्दा बढी विमानले उडान भर्ने गरेका छन्