April 20,2024,Saturday
spot_img

ईश्वर छन् छैनन् ?

एउटा फकिर एक गाउँमा बसेका थिए । त्यो गाउँको मानिसले उनलाई भने— तपाईं हाम्रो मन्दिरमा प्रवचन दिन जानुहुन्न ?

त्यो फकिर बोले— मलाई केही थाहा भए पो प्रवचन दिनु ! मलाई त केही थाहा छैन ।

गाउँलेले अनुमान गरे, यो साधुलाई अवश्य केही थाहा हुनुपर्छ । त्यसपछि उनीहरूले उनीहरूले साधुलाई ज्यादै कर गरेर मन्दिरमा लिएर गए । उनलाई एउटा मञ्चमा राखियो ।

गाउँलेले भने— निश्चय नै हामी ईश्वरको सम्बन्धमा सुन्न चाहन्छौँ ।

फकिरले सोधे, ‘तिमीलाई थाहा छ, ईश्वर छ ? तिमी मान्छौ, ईश्वर छ ? तिमीलाई थाहा छ, ईश्वर छ ?’

गाउँलेले एकै स्वरमा भने— हो, हामीलाई थाहा छ, ईश्वर छन् ।

फकिरले भने, ‘त्यसो हो भने मलाई क्षमा गर । जब तिमीहरूलाई ईश्वर छन् भन्ने थाहा छ भने कुरै सिद्धियो । अब म के बोलूँ ? ईश्वर छन् भन्ने ज्ञान भएपछि अरू ज्ञान आवश्यक हुँदैन । यही अन्तिम ज्ञान हो । जे थाहा पाउनु थियो, त्यो तिमीहरूले थाहा पाइसक्यौ । जे पाउन योग्य थियो, त्यो तिमीहरूले पाइसक्यो । ईश्वर अर्थात् अन्त, ‘द अल्टिमेट’, अब मैले बोल्न आवश्यक छैन । क्षमा गर । व्यर्थमा म किन श्रम गरूँ ? म जान्छु ।’

गाउँलेहरू छक्क परे । उनीहरूले सोचे— यो त बडो गडबड भयो । आउने शुक्रबार साधुसँग फेरि कुरा गर्ने उनीहरूले योजना बनाए । शुक्रबारको दिन फकिरलाई मन्दिरमा ल्याइयो । फकिरले फेरि सोधे— ईश्वर छन् भन्ने मान्छौ नि ?

गाउँलेले भने— कस्तो ईश्वर ? कहाँको ईश्वर ? हामीलाई केही थाहा छैन । ईश्वर छन् कि छैनन् भन्ने हामीलाई केही थाहा छैन । हामीले ईश्वरलाई न मान्छौँ, न हामी जान्दछौँ ।

फकिर बोले, ‘उसो भए कुरा सकियो । जब तिमीहरू ईश्वरको मूल्य मान्दैनौ र जान्दैछौ भने बेकारको मेहनत गर्नुको के आवश्यकता छ र ? जे कुरा छँदै छैन, त्यो सम्बन्धमा चर्चा गर्नाले के फाइदा हुन्छ ? म जान्छु । ईश्वर तिम्रो प्रश्न नै होइन, ईश्वर तिम्रो समस्या होइन ।’

फकिर मञ्चबाट ओर्लेर हिँडे । गाउँलेहरू असमञ्जसमा परे, अब के गर्ने होला ? अर्को शुक्रबार फेरि  फकिरलाई मन्दिरमा ल्याए । फकिरले सोधे— मित्रहरू ! के विचार छ, अब के प्रश्न छ ?

गाउँलेहरू होसियार थिए । जस्तो कि सबै गाउँका मानिस होसियार नै हुन्छन् । र ती होसियार मानिसले तेस्रो उत्तर खोजिसकेका थिए । जस्तो कि ईश्वरको सम्बन्धमा उत्तर तयार गर्नु गाउँका मानिसको अधिकार हो । होसियारहरूको सबै उत्तर दुई कौडीको हुन्छ । होसियारहरूको उत्तरको कुनै मूल्य हुँदैन । किनकि उनीहरूलाई थाहा हुँदैन, केवल सोचेर उत्तर तयार गरेका हुन्छन् ।

यसपालि पनि फकिरले सोधे— के विचार छ आज ? ईश्वर छन् कि छैनन् ? मान्छौ कि मान्दैनौ ?

यसपटक उपस्थित आधा मानिसले ईश्वर छन् भने, बाँकी आधा मानिसले हामीलाई थाहा छैन भने ।

फकिरले हाँस्दै भने, ‘तब त मेरो यहाँ आउनु बिल्कुलै अनावश्यक भयो । ईश्वरको बारेमा थाहा भएकाहरूले थाहा नभएकाहरूलाई बुझाइदेऊ ।’ यति भन्दै फकिर हिँडिहाले ।

त्यो फकिरसँग मैले सोधेँ, ‘चौथोचोटि ती मानिस आए कि आएनन् ?’

फकिरले भने— चौथोचोटि तिनीहरू आएका भए फेरि मलाई बोल्नुपथ्र्याे । यसपालि पनि मैले सोध्थेँ, उनीहरू चुप हुन्थे । कुनै पनि उत्तर दिँदैनथे । अनि मलाई अवश्य बोल्नुपथ्र्यो । सत्यको खोजको पहिलो चरण हो, मौन । मौन निष्पक्ष हुन्छ । हो र होइन भन्नेमा विभाजित हुन्छन्– आस्तिक र नास्तिकहरू । यसैले दुवै धार्मिक होइनन् । दुवैको खोज सत्यको खोज होइन । आस्तिकहरूले ‘हो’को पक्ष र नास्तिकले ‘होइन’को पक्ष लिइरहेका हुन्छन् । निष्पक्ष कोही हुँदैन । सत्यको खोज त्यसले मात्र गर्न सक्छ, जो निष्पक्ष छ, ‘अनप्रेजुडिस्ड’ ।

जसको मनमा कुनै पक्षले कुनै स्थान बनाएका छैन, उसले भन्छ, मलाई थाहा छैन । यसैले म कुनै पक्षमा कसरी सम्मिलित होऊँ ? जुन दिन मलाई थाहा हुनेछ, त्यो दिन म कुनै पक्षमा उभिनेछु । त बडो आश्चर्यको कुरा यो छ कि, जसले जानेका छन्, उनीहरू सबै पक्षबाट बाहिर भएका छन्, उनीहरू कुनै पक्षमा कहिल्यै उभिएनन् । जसलाई थाहा छैन, उनीहरू पक्षहरूमा विभक्त छन् । सत्यको खोजको हत्या यो संसारमा यसैले भयो कि सत्यको नाममा पक्ष बन्यो ।

सत्यको कुनै पक्ष हुँदैन । सत्यको कुनै मत हुँदैन । सत्यको कुनै पन्थ हुँदैन । सत्यको कुनै सम्प्रदाय हुँदैन । सत्यको कुनै धर्म हुँदैन । तर सबै मनुष्य विभक्त छन्— पन्थमा, धर्ममा, पक्षमा, मतमा, फिलोसफिजमा, सिस्टम्समा । हरेक मानिसले कुनै न कुनै पक्ष बनाएका छन् । जुन मानिसले पक्ष बनाएका छन्, उनीहरू असत्यको बाटोमा गइसकेका छन् । उनीहरूको सत्यको यात्रा हुन सक्दैन ।

सत्यतिर जानका लागि निष्पक्ष चित्त, अनप्रेजुडिस्ड माइन्ड, एउटा यस्तो चेतना चाहिन्छ, जसले भनोस् कि मलाई थाहा छैन । पक्ष लिनका लागि ज्ञानी मान्न आवश्यक हुन्छ, आफूले आफूलाई । यसैले म भन्छु, पक्षले मनुष्यलाई असत्यको यात्रामा लैजान्छ । पक्षमा सम्मिलित हुनु भनेको म जान्दछु भनी स्वीकार गर्नु हो । अनि त पक्ष लिन सकिन्छ ।

धर्मको नाममा आजसम्म जति हत्याहरू भएका छन्, त्यति हत्या न डाँकुहरूले गरेका छन्, न चोरले, न त बदमासले । बडो आश्चर्यको कुरा हो यो । धर्मको नाममा जति घर जलेका छन् र जति स्त्रीहरूको बेइज्जती भएको छ, त्यति आजसम्मका सारा पापीहरूले मिलेर पनि गरेका छैनन् । यो आश्चर्यको कुरा हो । धर्मको नाममा यस्तो कसरी हुन सक्छ ? यदि धर्मको नाममा यो सबै हुन्छ भने फेरि अधर्म गर्नका लागि केही पनि बच्दैन, फेरि अधर्म के गाह्रो ? अधर्मका लागि कुनै उपाय नै छोडेका छैनन् धार्मिक मानिसले ।

धर्मको नाममा यस्तो भएको छ, यसैले कि हामीले धर्मलाई पन्थ सम्झेका छौँ, पक्ष सम्झेका छौँ । धर्मको पक्ष र पन्थसँग कुनै पनि सम्बन्ध हुँदैन । धार्मिक व्यक्ति निष्पन्थ र निष्पक्ष हुन्छ ।

के तपाईं धार्मिक व्यक्ति हो ? तपाईं भन्नुहुनेछ— हो, म धार्मिक हुँ । म हिन्दु हुँ, टीका लगाउँछु, जनै लगाउँछु । म मुसलमान हुँ, मस्जिद जान्छु । म जैन हुँ, नमोकार पढ्छु । तपाईंलाई कहिले पनि यो विचार आएन होला कि तपाईं पक्षमा उभिनुभएको छ, त्यसैले तपाईं धार्मिक हुनुभएन । धार्मिक व्यक्तिले सत्यको खोज गर्न सक्छ, अधार्मिकले होइन । र धार्मिक हुनका लागि निष्पक्षता पहिलो सूत्र हो ।

  1. (ओशो प्रवचन ः ‘मै कौन हुँ’लाई रमा दुलालले नेपालीमा भावानुवाद गरेकी हुन् ।)

 

प्रतिक्रिया लेख्नुहोस्
neelambads

ताजा खबर

सम्बन्धित खबर