तीनजनाको मृत्यु र तीन घाइते हुनेगरी बाराको निजगढमा सोमवार भएको विष्फोटमा प्रयोग भएको विष्फोटक पदार्थबारे प्रहरीले अनुसन्धान थालेको छ ।

सुरुमा प्रहरीले वर्कसपमा ग्यास सिलिन्डर विस्फोट भएको आशंका गरेपनि अनुसन्धान गर्दै जाँदा अर्को कुनै घातक विष्फोटक पदार्थ प्रयोग भएको निष्कर्षमा प्रहरी पुगेको हो ।

‘हामीले पनि सुरुमा लेथ मेसिन सञ्चालन गर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको अनुमान गरेका थियौँ,’ डिएसपी दधिराम न्यौपानेले भने, ‘तर, अहिले बुझ्दा त्यहाँ अर्कै एक्पलोजन हुने विस्फोटक पदार्थ प्रयोग भएको हाम्रो अनुमान हो ।’

बम जस्तो देखिने त्यो विस्फोट पदार्थ १५ किलोभन्दा धेरै भएको प्रहरीको अनुमान छ। यद्दपी त्यती ठूलो बम नहुने प्रहरीको भनाइ छ ।प्रहरीले विस्फोटक पदार्थको टुक्रा संकलन गरेर राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाउने तयारी गरिरहेको छ ।

नाम नखुलेको झण्डै १५ किलो तौलको त्यो पदार्थलाई लेथमा राखेर काट्ने क्रममा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

‘कबाडी सञ्चालक (भारतीय नागरिक) रमेश जैसवाल ले त्यसभित्र निकै तामा छ भन्ने लोभमा परेर किनेका रहेछन्,’ एक प्रहरीले भने, ‘लेथमा लगेर त्यसलाई काटेर हेर्ने क्रममा विस्फोट भएको हो।’

उक्त सामान किन्ने भारतको मोतिहारी घर भएका ४० वर्षीय जैसवाललाई प्रहरीले पक्राउ गरिसकेको छ।जैसवालाई त्यो शंकास्पद वस्तु बेच्ने निजगढकै २९ वर्षीय टीकाराम पाख्रिन पनि पक्राउ परेका छन्।

जैसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका छन्।विस्फोटपछि एम्बुलेन्स चढेर श्रीमती सुशीलादेवी र छोराछोरीसहित भारततिर भाग्दै गरेका जैसवाललाई प्रहरीले सोमबार साँझ बारा सदरमुकामबाट पक्राउ गरेको हो।

विष्फोटमा परेर हालसम्म तीनजनाको मृत्यु भइसकेको छ भने अझै तीनजना घाइते छन् ।स्थानीय रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसप लेथमा ग्यास वेल्डिङ गर्नेक्रममा विष्फोट हुँदा मगरसहित तीजनाको उक्त घटनामा मृत्यु भएको हो ।

मृत्यु हुनेमा निजगढ नगरपालिका–५ बस्ने वर्कसपका सञ्चालक मगर, भारत बिहारको गवाई बस्ने ३५ वर्षीय राकेश जैसवाल र पर्साको वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत रहेका छन् ।

निजगढ नगरपालिका– ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापा, वीरगंज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देवान, विहार रामघडवा बस्ने २० वर्षीय अरविन साह घाइते छन् । उनीहरुको उपचार अहिले भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्