हामीले भगवद‍्गीता सुन्दै र कतिपयले पढ्दै आएका पनि छौँ तर अष्टावक्र गीता धेरैका लागि नौलो हुन सक्छ । अष्टावक्र गीता र भगवद‍्गीतामा केही भिन्नता छ ।

भगवद‍्गीता अर्जुनको मोहलाई भङ्ग गर्न केन्द्रित छ । कुरुक्षेत्रमा अर्जुनमा मोह जागेको थियो— इष्टमित्र, दाजुभाइ र गुरुजनसँग म कसरी र किन लडौँ ? लड्दिनँ ।

त्यो मोह भङ्ग गर्न भगवद‍्गीताको जन्म भएको थियो । यसका जुनसुकै श्लोक पल्टाए पनि मोह भङ्ग हुने कुरा उल्लेख गरिएको हुन्छ ।

अष्टावक्र गीता बुझ्न धेरै कठिन छ । त्यसैले अष्टावक्र गीता जनप्रिय भएन, किनकि यसले सिधै सत्यको कुरा भन्छ । हामीले कृष्ण र अर्जुनको मन्दिर पाउन सक्छौँ तर कतै पनि अष्टावक्रको मन्दिर पाउँदैनौँ । अष्टावक्रले ‘मन्दिर बनाउने मानिस नै परमात्मा हो, मन्दिर नै परमात्मा हो, मन्दिरमा पूजा गर्ने मानिस पनि परमात्मा हो’ भनेका छन् । यस्तो मानिसको मन्दिर कसले बनाउने ?

  • अष्टावक्र गीता

रामकृष्ण परमहंशको बारेमा हामी धेरैले सुनेको हुनुपर्छ । नरेन्द्र नाम गरेका एक युवक एक दिन रामकृष्ण परमहंशकहाँ आएर प्रश्न गरे– ईश्वर कहाँ छ ? परमात्मा कहाँ छ ? मलाई प्रमाण दिनुस् ।

नरेन्द्रको बोल्ने ढङ्ग, जिज्ञासा व्यक्त गर्ने कला, प्रश्न गर्ने तरिका, शङ्का उठाउने तरिका देखेर परमहंश रामकृष्णले नरेन्द्रलाई चिने । रामकृष्णलाई थाहा थियो— ईश्वर हुनुको कुनै प्रमाण दिन सकिँदैन । ईश्वरको अस्तित्वको कुनै प्रमाण हुँदैन तर मैले जवाफ दिइनँ भने यो युवक यहाँबाट जान्छ र अर्काे सम्प्रदाय खडा गर्छ ।

परमहंस रामकृष्णले ती युवकलाई भने— म बुढो भएँ, आँखा देख्दिनँ, पढ्न सक्दिनँ । तिमी यो किताब पढेर मलाई सुनाऊ म सुन्छु ।

उनले ‘अष्टावक्र गीता’ ती युवकलाई दिए ।

जब नरेन्द्रले अष्टावक्र गीताका २० प्रकरण पढेर सिध्याए । नरेन्द्रको भावभङ्गीलाई नियालेर रामकृष्णले भने— तिमीमा विवेक र आनन्द भरिएको छ । आजदेखि तिमी नरेन्द्र होइनौ, विवेकानन्द भयौ । नरेन्द्र अर्थात् विवेकानन्दका सबै प्रश्न तिरोहित भए ।

पहिलो जुन किताब पढेर नरेन्द्रलाई ‘विवेक’ र ‘आनन्द’ प्रकट भएको थियो— त्यो थियो— अष्टावक्र गीता । यसैले रामकृष्णले उनको नाम विवेकानन्द राखिदिए, जुन नामबाट उनी विश्वभरि प्रख्यात भए । यसैले यो किताबको मननबाट विवेक मात्र होइन, आनन्द पनि प्रकट हुन्छ ।

म यहाँ बन्दीसँग शास्त्रार्थ गरेर उनलाई हराउन आएको छु । बाहिर राखेका गाईहरू जति छन्, ती सबै मेरो घर उत्तालक ऋषिकहाँ पठाइदिनुस् । शास्त्रार्थ सुरु हुनुअघि नै अष्टावक्रले गाईहरू आफ्नो घरमा लैजान भनेका थिए ।

  • अष्टावक्र को हुन् ?

अष्टावक्र को थिए, अष्टावक्र गीताको जन्म कसरी भयो ? त्यतातिर जाउँ ।

जसरी महाभारतमा भीष्म पर्वभित्र भगवद‍्गीताको उल्लेख छ, त्यसरी नै महाभारतमा वनपर्वभित्र अष्टावक्र गीताका बारेमा उल्लेख गरिएको छ । जब पाण्डव अज्ञात वासको समयमा थिए, अर्जुनलाई त लुक्ने ठाउँ मिलेको थियो तर बाँकी चार भाइलाई थिएन । यसैले उनीहरू वनमा भड्किरहेका थिए । त्यही बेला ती चारजनाले लोमेश नामका मुनिलाई भेटे ।

उनीहरूले लोमेश मुनिलाई भने— यहाँ आउनेबित्तिकै हामीलाई अचम्मको अनुभूति भयो । यो कसको आश्रम हो ? तपाईं यहाँ के गरिरहनुभएको छ ?

लोमेश मुनिले भने— यो आश्रम उत्तालक नामका ऋषिको थियो, जो हजारौँ वर्ष पहिले यहाँ बस्थे । उनको पालामा दुईजना आत्मज्ञानी महापुरुष भए— अष्टावक्र र श्वेतकेतु ।

पाण्डवलाई जिज्ञासा जाग्यो, श्वेतकेतु र अष्टावक्र को हुन् ?

लोमेश मुनि भने— उत्तालक ऋषिका दुई सन्तान थिए— छोरा श्वेतकेतु र छोरी सुजाता । सुजाता २० वर्षकी हुँदा श्वेतकेतु दुई वर्षका मात्र थिए । उनकै आश्रममा एकजना युवा पण्डित बस्थे । उनको नाम थियो— कहोड ।

उनी उत्तालक ऋषिका शिष्य पनि थिए । आफ्नो सम्पूर्ण जीवन उनले उत्तालक ऋषिलाई समर्पित गरेका थिए । उनी शास्त्रमा पारङ्गत थिए । उनी पण्डित त थिए, तर आत्मज्ञानी थिएनन् । उनको सेवाबाट प्रभावित भएर उत्तालक ऋषिले आफ्नी छोरी सुजाताको विवाह कहोडसँग गरिदिए । कहोड दिनरात शास्त्रका श्लोक कण्ठ गर्नमा लाग्थे । केही समयपछि सुजातालाई गर्भधारण भयो । गर्भमा पुत्र आयो, त्यही पुत्र अष्टावक्र थिए ।

रातदिन शास्त्र पढ्दापढ्दा उनी धेरै थाकेका थिए । त्यही बेला पण्डितहरूको संवाद चलिरहेको थियो । उनले उक्त संवादमा एकपल्ट वा दुईपल्ट होइन, आठपल्ट उल्टो–सुल्टो बोले । त्यो कुरा पेटभित्रका बच्चाले सुनिरहेका थिए । पेटभित्रैबाट ती बालकले भने— पिताजी ! तपाईंले आफूलाई उच्च देखाउन एकपल्ट मात्र होइन, आठपल्ट शास्त्रको सूत्रलाई गलत व्याख्या गर्नुभएको छ । कृपया सच्याउनुस् ।

पेटभित्रको बालकले यति बोलेपछि पण्डितको पण्डित्याइँमा ठेस लाग्नु स्वाभाविकै हो । पण्डित कहोडलाई धेरै नै आघात पुग्यो, अनि उनले त्यो बच्चालाई भने, ‘तैँले मलाई सिकाउने ? म तँलाई श्राप दिन्छु— जब तेरो जन्म हुनेछ, त आठ ठाउँमा वक्र भएको (बाङ्गिएको) हुनेछस् ।’

नभन्दै जन्मदा उनी आठ ठाउँमा वक्र भएका थिए, उनको नाम पनि अष्टावक्र रहन गयो । पण्डित कहोडको घरको हालत नाजुक थियो । उनीहरू उत्तालक ऋषिकहाँ बसिराखेका थिए । त्यही बेला सुजाताले भनिन्— हाम्रो घरको हालत दयनीय छ । जनक राजाको दरबारमा केही ऋषि आएका छन् । शास्त्रार्थ चलिरहेको छ, त्यहाँ जानुस् । त्यहाँ गाईको सिङमा हिरामोती राखिएको छ । तपाईंले शास्त्रमा जित्नुभयो भने, त्यो हाम्रो हुन्छ । हाम्रो आर्थिक अवस्था सुध्रिन्छ ।

कहोड राजा जनकको दरबारमा शास्त्रार्थ गर्न गए । त्यो बेला बन्दी नामका ऋषिले मिथिला देशमा सबै पण्डितलाई शास्त्रार्थका लागि ललकारी राखेका थिए— शास्त्रार्थमा मलाई कसैले जित्यो भने यो हिरामोतीले ढाकिएको गाई पाउँछ, हा¥यो भने जल समाधि अर्थात् आत्महत्या गर्नुपर्नेछ ।

त्यो बेला शास्त्रार्थ गर्दा यस्तो सर्त राख्नुलाई उपयुक्त मानिन्थ्यो । किनकि धर्मको चर्चा गर्दा हार्ने व्यक्ति बाँच्यो भने उसले समाजलाई नकारात्मक असर दिन सक्थ्यो, यसैले ऊ मर्नुपथ्र्याे ।

पण्डित कहोड राजाको दरबारमा गएपछि दिनभरि शास्त्रार्थ चल्यो, अन्ततः उनी हारे । सर्त अनुसार उनले जल समाधि लिनुपथ्र्यो । यो कुरा उत्तालक ऋषि कहाँ पुग्यो । पत्नी सुजाताले पनि थाहा पाइन् । उत्तालक ऋषिले निर्णय गरे— सुजाताको कोखबाट जन्मने बच्चालाई उसको बुबा शास्त्रार्थमा हारेर मरिसकेको छ भनेर थाहा दिनु हुँदैन । जब ऊ जन्मिन्छ, अनि उसलाई उत्तालक ऋषि नै बुवा हो भनेर भन्नुपर्छ । श्वेतकेतुको भाइ भनेर भन्नुपर्छ ।

श्वेतकेतु र अष्टावक्र उत्तालक ऋषिको हेरचाहमा हुर्कन्छन् । यी दुवै मामाभाञ्जाले उत्तालक ऋषिबाट जति पनि शास्त्र सिक्थे, सिकेर आएपछि आफ्नो अनुभवको धारा बगाउँथे । यसैले लोमेशमुनिले भनेका थिए, यी दुईजना नै आत्मज्ञानी थिए ।

१२ वर्ष पुगेका अष्टावक्र मामा श्वेतकेतुसँग खेलिरहेका थिए । खेल्दाखेल्दै अष्टावक्र उत्तालकको काखमा गएर बसे । श्वेतकेतु बस्न पाएनन्, अनि श्वेतकेतुले अष्टावक्रलाई भने— उहाँ तिम्रो पिताजी होइन, हजुरबुवा हो । उहाँ त मेरो पिताजी हो । तिम्रो पिताजी त राजाको दरबारमा शास्त्रार्थ गर्न जाँदा हारेर जल समाधि लिइसक्नुभएको छ । यो सुन्नेबित्तिकै अष्टावक्रको मनमा थुप्रै प्रश्न आए ।

दौडँदै गएर उनले आमा सुजातासँग सोधे— मेरो पिताजी को हो ? मलाई भन्नुस् । सुजातालाई लाग्यो— ठिक समय आएको छ । अब यसलाई मैले सबै कुरा भन्नुपर्छ । अनि उनले सबै वृत्तान्त पुत्रलाई बताइन् ।

यो सुन्नेबित्तिकै अष्टावक्र दौडिँदै मिथिला नगरीमा पुगे । उनले ढोकाबाटै भने— म यहाँ बन्दीसँग शास्त्रार्थ गरेर उनलाई हराउन आएको छु । बाहिर राखेका गाईहरू जति छन्, ती सबै मेरो घर उत्तालक ऋषिकहाँ पठाइदिनुस् । शास्त्रार्थ सुरु हुनुअघि नै अष्टावक्रले गाईहरू आफ्नो घरमा लैजान भनेका थिए ।

आठ ठाउँमा बाँँगिएको शरीर भएका १२ वर्षका केटोको हाँक सुनेर राजा जनकको सभा हाँसोले गुञ्जियो । राज्यसभामा सबैजना हाँसेको देखेर अष्टावक्र पनि ढोकाबाटै जोडले हाँस्न थाले । अष्टावक्र हाँसेको देखेर राज्यसभा स्तब्ध भयो । उनको हाँसोको अर्थ बेग्लै हुन्छ ।

‘हामी त तिम्रो काया देखेर हाँसेका थियौँ, तर तिमी किन हाँस्यौ ?’ राजा जनकले सोधे ।

अष्टावक्रले हाँस्दै भने, ‘म त यहाँ शास्त्रार्थ गर्न विद्वानको सभामा आएको थिएँ, तर यहाँ मैले आफूलाई सिनो उठाउनेहरुको सभामा पाएँ । यस्तो सभामा धर्मको कुरा हुन्छ र ? धर्मको निर्णय हुन्छ र ? मोक्षको निर्णय हुन्छ र ? आत्माको कुरा हुन्छ र ? यसैले म हाँसेको हुँ ।’

उनले यति के भनेका थिए, राज्यसभामा सन्नाटा छायो । जनकले भने— तिमी के भन्न चाहन्छौ त ?

‘म केही पनि चाहन्नँ । १२ वर्षदेखि जुन बन्दीसँग जय–पराजयको शास्त्रार्थ चलिरहेको छ, म शास्त्रार्थमा भाग लिएर बन्दीलाई हराउन चाहन्छु । बन्दीसँग अष्टावक्रको शास्त्रार्थ चल्यो । तीन दिनपछि बन्दी हारे, अष्टावक्रले जिते । अब जल समाधि लिने पालो बन्दीको थियो ।

बन्दी भन्छन्— म वास्तवमा वरुणदेवको पुत्र हुँ । मेरा पिताजीले आकाशमा एउटा ठुलो यज्ञ गरिरहनुभएको छ । त्यसका लागि पण्डितहरू चाहिएको छ । त्यही आवश्यकता पूर्ति गर्न म यहाँ मृत्युलोकमा आएको हुँ । जलमार्गबाट ती पण्डितलाई मैले मेरो बुवा कहाँ पठाएको छु । त्यो यज्ञ तब नै पूरा हुन्छ जब म यो शास्त्रार्थमा हार्नेछु । आज अष्टावक्रले मलाई हराए । यसैले म अब मेरो पिताजीको यज्ञको ठाउँमा जानेछु । जल समाधि लिनुभएका सबै पण्डितहरू जलमार्गबाट पृथ्वीलोकमा आउँदै हुनुहुन्छ, फर्कंदै हुनुहुन्छ ।

उनको यो कुरा कसैलाई विश्वास भएन । राजा जनक स्वयं जल समाधि लिएको नदी तटमा गए, नभन्दै नदीबाट पण्डितहरू आउँदै थिए । सबैले अष्टावक्रलाई जयजयकार गरे । अष्टावक्रले गर्दा उनीहरू फर्कन पाएका थिए । त्यही पण्डितहरूमा अष्टावक्रको पिताजी कहोड पनि थिए । उनको पण्डित्याइँको अहं टुटिसकेको थियो । उनी आउनेबित्तिकै अष्टावक्रलाई हेर्दै भने– मलाई के थाहा, मजस्तो मूर्खको घरमा पनि यस्तो आत्मज्ञानी जन्मन्छ भनेर ?

उनले यति मात्र के भनेका थिए, उनीभित्र आत्मज्ञान उदय भयो । आत्मज्ञान प्राप्त भएका कारणले कहोड ऋषिले अष्टावक्रलाई भने– जाऊ, उत्तालक ऋषिको आश्रम पछाडि बगिरहेको नदीमा जाऊ र नुहाऊ, तिम्रो शरीर ठिक हुन्छ ।

उक्त नदीमा स्नान गरेपछि अष्टावक्र सामान्य मानिसजस्तै भए ।

यता १२ वर्षको केटो अष्टावक्रसँग तीन दिनको शास्त्रार्थको प्रभाव राजा जनकको मस्तिष्कमा गहिरोसँग प¥यो । उनी यसबारे सोच्दासोच्दै निदाए । निद्रामा उनले सपना देखे— अर्काे देशको राजाले उनको देशमा आक्रमण गरेको छ । उनी हारेका छन् । उनी वन–वन भौँतारिरहेका छन् । भोकले कमजोर भइसकेका उनलाई कसैले चामल दियो । वनमै आगो बालेर कतैबाट भाँडो पाएर त्यो चामलबाट खिचडी पकाउन थाले । तीन दिनका भोका जनकले त्यो खिचडी पाकेको हेरिरहेका थिए ।

यत्तिकैमा जुद्धै आएका दुईटा गोरुले त्यो खिचडी पोखिदिए । तीन दिनदेखिको भोका जनकले केही गर्न सकेनन् । अब कहिले खाना पाउँछु भन्ने चिन्तामा डुबेकै बेला उनी झल्याँस्स बिउँझिएँ ।

सपनामा उनी गरिब, भोको र दुःखी थिए, तर बिउँझँदा उनी उही दरबारमा थिए, जहाँ भरिपूर्ण खानेकुरा थिए । राजा जनकलाई प्रश्न आउँछ— यी दुईमा सत्य के हो ? मैले देखेको सपना सत्य हो कि मेरो वास्तविक अवस्था सत्य हो ?

यो प्रश्नको उत्तर पाउन राजा जनकले भोलिपल्ट राज्यसभा बोलाए, तर कुनै पण्डितले यसको जवाफ दिन सकेनन् । उनीहरू सबै पण्डित थिए, आत्मज्ञानी थिएनन् । उनीहरूले भने— हामी पण्डित हौँ, आत्मज्ञानी होइनौँ । आत्मज्ञानीले मात्र हजुरको यो प्रश्नको जवाफ दिन सक्छ । आज आत्मज्ञानी कोही छ भने अष्टावक्र नै छन् । उनैले हजुरको प्रश्नको जवाफ दिन सक्छन् ।

राजा जनकले अष्टावक्रलाई बोलाएर राजसी सम्मानका साथ राखेर सोधे— मेरो सपना सत्य हो कि यो जागृति अवस्था !

अष्टावक्र भन्छन्– राजा ! न तिम्रो त्यो सपना सत्य हो, न यो जागृति अवस्था सत्य हो । दुवै असत्य हुन् । जनकको प्रश्न र अष्टावक्रको जवाफ नै अष्टावक्र गीता हो ।

अष्टावक्र गीता अद्वैत वेदान्त ग्रन्थ हो । यसमा ज्ञान, वैराग्य, मुक्ति आदिको वर्णन आएको छ ।

साभार =रातो पाटी
प्रतिक्रिया लेख्नुहोस्