काठमाडौं । मैथिली भाषामा निर्माण गरिएका चलचित्रहरूलाई लक्षित गर्दै पहिलोपटक जनकपुरधाममा दुई दिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिएको छ । असार ११ र १२ गते जनकपुरमा भएको महोत्सवलाई जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवले गर्दै मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा टेवा पुर्याउने बताए । “मैथिली भाषामा फिल्म निर्माण हुनु गौरवको विषय हो । नवीनतम सोच भएका युवाहरूको उपस्थिति बढेसँगै आउँदो समयमा अन्य भाषा झैँ मैथिली फिल्मले फड्को मार्नेमा विश्वस्त छु,” मुख्यमन्त्री सिंहले भने
अभिनेता तथा निर्देशक नीर शाहले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउन अन्तर संस्कृतिका विषय चलचित्रमा आउनु पर्ने बताए ।
महोत्सवका निर्देशक रमेश रञ्जन झाले फेस्टिभलका कारण मिथिलाञ्चल क्षेत्रसँगै मैथिली भाषामा काम गरिरहेका कलाकार, लेखक, गायक तथा निर्देशक एउटा प्लेटफर्मको निर्माण भएको बताए ।
महोत्सवमा वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुफिल्मतर्फ ‘अफवाह’ र ‘रक्त तिलक’, फिचर फिल्मतर्फ ‘ललका पागु’, ‘लोटस ब्लूम्सु’ ‘समानान्तर’ प्रदर्शन गरियो । महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तरक्रिया गरिएको निर्देशक र महोत्सवका संयोजक पुर्णेन्दु के झाले जानकारी दिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।