विश्व स्वास्थ्य संगठनका अनुसार औद्योगिक मुलुकहरुकका ७० देखि ९५ प्रतिशतसम्म बालबालिकाको दाँतमा कीरा लाग्ने गरेको छ । बच्चाको दाँत एकदमै संवेदनशील हुन्छ । यसको सही तरिकाले हेरचाह गर्न सकिएन भने दाँत कीराले खाने हुन्छ ।
साधारणतया ६ महिनाबाट बच्चाको दाँत आउन सुरु हुन्छ । कुनै बच्चामा दाँत आउन सुरु गर्दागर्दै दाँत सड्न पनि सुरु भइसकेको हुन्छ । बालबालिकाको दाँतको विकास हुने क्रममा संक्रमण तथा सड्ने क्रम बढ्दै गएर दाँत नै झर्ने अवस्थामा दाँतको टुक्रा मात्र बाँकी हुनसक्छ ।
दाँतमा कीरा लाग्ने समस्या बालबालिकामा देखिने मुख्य समस्या हो । त्यसैले यो समस्याबाट बचाउन अभिभावकले केही कुरामा विशेष ध्यान दिनुपर्छ ।
यसकारण बच्चाको दाँत कीराले खान्छ
बच्चाको दाँतमा कीरा लाग्ने समस्या विकराल रूपमा देखिनुको मुख्य कारण मुखको सरसफाइमा कमी, खानाको तरिकामा आएको परिवर्तन हो ।
शिशुलाई दूध चुसाएपछि दाँत सफा नगरिदिनु, खाना खाएपछि दाँत ब्रस नगरिदिनु, धेरै गुलियो तथा दाँतमा टाँसिने खानेकुरा खान दिनु, दाँतमा टाँसिने खाना खाएपछि दाँत नमाझ्नु, बच्चाको दाँत फेरिने त हो नि भनेर अभिभावकले बेवास्ता गर्नु जस्ता कारणले बच्चाको दाँत कीराले खाने गर्छ ।
खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नका कण, मुख्यतः गुलियो र स्टार्चलाई २० मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तित गर्छ । ब्याक्टेरियाले उत्पन्न गराउने यो अम्लले मुखको र्यालसँग मिलेर प्लाक नामक टाँसिने पदार्थ बनाउँछ । यो दाँतमा टाँसिन्छ ।
यदि धेरै दिनसम्म दाँतको सफाइ हुन सकेन भने प्लाक कडा भएर ‘टार्टर’ बन्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाउँछ । यही प्रक्रिया नै दाँतमा कीरा लाग्नु हो ।
६ महिनापछि बच्चालाई पानी खुवाउन मिल्छ । बच्चाले दूध खाएपछि दूधको बोतलमा सफा पानी हालेर थोरै चुसाइदिनुपर्छ । यसो गर्दा मुखमा दूध जम्न पाउँदैन र कीराले दाँत खाने सम्भावना कम रहन्छ ।
दाँत पलाएपछि बच्चाले जबसम्म थुक्न र कुल्ला गर्न जान्दैन, तबसम्म अभिभावकले नै नरम टुथब्रसले दाँत सफा गरिदिनुपर्छ । बिस्तारै ठूलो भएपछि कुल्ला गर्न जानेपछि उसलाई ब्रस दिएर गर्न लगाउने र आफूले पनि गरिदिने गर्नुपर्छ । उसले ब्रस गर्दा राम्ररी गरेको छ कि छैन भनेर हेर्नुपर्छ र सिकाउनुपर्छ ।
बच्चाको एक वर्ष पूरा भएपछि दन्तरोग विशेषज्ञकहाँ गएर दाँतको जाँच गराउनुपर्छ । समय-समयमा चिकित्सककहाँ जानुको अर्को फाइदा के छ भने यसले थप जटिलता र पैसा खर्च हुनबाट पनि जोगाउँछ । परीक्षणले दाँतको समस्या अरू बढाउन दिंदैन र बच्चालाई थप पीडा पनि हुँदैन ।
साना बालबालिकाले दाँत माझ्ने क्रममा फ्लोराइड (टुथपेस्टमा हुने एक तत्त्व) निल्ने सम्भावना बढी हुन्छ । त्यसैले उनीहरूका लागि कम फ्लोराइड भएको मञ्जन वा सम्भव भएसम्म फ्लोराइड नभएको मञ्जन उचित हुन्छ । त्यसैले चिकित्सकको सल्लाहअनुसारको मञ्जन दिनुपर्छ । जब बालबालिका थुक्न सक्ने र उनीहरूमा मञ्जन निल्नु हुँदैन भन्ने ज्ञान हुन्छ तब फ्लोराइडयुक्त मञ्जन दिन सकिन्छ ।
धेरै अभिभावकले छिनछिनमै चकलेट, आइसक्रिम, जुस आदि खानेकुरा खुवाइरहेका हुन्छन् । यसरी पटक-पटक खाइरहँदा मुखमा खानेकुरा जम्ने सम्भावना हुन्छ । जसले गर्दा दाँत कीराले खाने समस्या बढी देखिन सक्छ । त्यसैले यस्तो खानेकुरा खुवाउन जति कम गर्यो, त्यति नै दाँतको हेरचाह गर्न सजिलो हुन्छ । बच्चाले खाइहालेमा कुल्ला गर्न सिकाउनुपर्छ ।
आजभोलि धेरै बालबालिकाले विद्यालयमा नै बिहानको खाना खाजा खाने गर्छन् । त्यसैले प्रत्येक विद्यालयले बालबालिकालाई बिहान–बेलुका दाँत माझ्न प्रेरित गर्नुपर्छ ।