काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले नेपालमा २० वटा संरक्षित क्षेत्र रहे पनि मधेश प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र नरहेको बताएका हुन् ।
‘किनकी नेपालमा रहेको २० वटा संरक्षित क्षेत्रहरूमध्ये अरू सबै प्रदेशमा पर्छ तर मधेसमा एउटा पनि पूर्ण रूपमा छैन। तराईका लागि चुरेले भूमिगत जलभण्डारको काम गरेको छ। त्यसकारण यो आवश्यक छ,’ उनले भने।
झाले पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मका ३३ जिल्लाका केही न केही भूभाग ओगटेको चुरे क्षेत्रमा अनावश्यक दोहन र अनावश्यक बाटोहरूका कारण तराईको वाटर सप्लाई कमजोर बनेको बताउँदै संरक्षणको माग गरे।
‘चुरेले १२.७८ प्रतिशत भूभाग ओगटेको छ। ३८ जिल्ला र १३७ स्थानीय तहमा चुरे क्षेत्र फैलिएको छ। त्यसभन्दा तल रहेको तराईमा कुल जनसंख्याको ६० प्रतिशत मानिस बस्छन्। यी सबैको दैनिकी र दैनिक आवश्यकता खानेपानीसँग चुरेको प्रत्यक्ष सम्बन्ध छ,’ उनले भने।
२० वटा संरक्षित क्षेत्रमध्ये ७ वटाको प्रत्यक्ष सम्बन्ध चुरेसँग पर्ने पनि उनले बताए। त्यस्तै १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाती चुरे र तराई क्षेत्रमा पाइने र संकटापन्न ४९३ प्रजातीमध्ये ३१९ प्रजातीका जीवजन्तु सोही क्षेत्रमा पाइने उनले बताए।
त्यस्तै नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाती यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताए ।