![20240628_164905](https://www.gopyakhabar.com/storage/2024/06/20240628_164905-1-696x391.jpg)
पर्सा / यस वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याउने देशभरका १८६ जना विद्यार्थीभित्र डिभिजन वन कार्यालय, बाराका सवारी चालक देवनाथ राय यादवका छोरा राहुल बारा जिल्लाकै एक मात्र विद्यार्थी हुन् ।
दुई दशकदेखि डिभिजन वन कार्यालय बारामा सवारी चालकको रूपमा काम गर्दै आएमा यादवलाई जीवनमा यति धेरै खुसी मिल्छ भनेर विश्वास थिएन ।देवनाथ राय सामान्य पढलेख गर्नमात्रै जान्दछन् । आफूले खासै पढलेख नगरे पनि आफनो २ छोरालाई उनले पठनपाठनमा प्रेरित गर्दै आएका छन् ।‘करोडपति, अर्बपतिका छोराछोरीले ल्याउन नसकेको नतिजा आज मजस्तो सवारी चालकको छोराले ल्याएको छ, धेरै खुसी छु,’ देवनाथले भने । अब छोराको इच्छाअनुसारको विषय पढाउने उनको भनाई छ ।
ब्राईटर एकेडेमी सिमरामा अध्यनरत राहुल विद्यालय समयबाहेक बिहान बेलुका अतिरिक्त्त कक्षामा सहभागी हुने गर्दथे । ‘घरमा त्यही दैनिक २ घन्टा पढ्छु, धेरै कुरा त विद्यालयमै सिक्नेरसिकाउने हुन्छ,’ राहुलले भने ‘घरमा हल्का आफ्नो मनले थोरै पढे पनि धेरै बुझ्नेगरी पढ्नुपर्छ त्यतिले पुग्छ ।’
व्यवस्थापन विषय पढेर बैंकिङ्ग क्षेत्रमा काम गर्ने आफ्नो योजना रहेको उनले सुनाए । उच्च शिक्षा अध्ययनका लागि धेरै युवायुवती विदेश जाने गरेको अवस्थामा पनि उनी देशमै रहेर केही गर्ने योजना रहेको बताउँछन् । ‘विदेश जाने विचार छैन,’ उनले भने, ‘आफ्नै देशमा काम गर्ने, स्वरोजगार हुने उद्देश्य छ ।’
यस वर्ष बारा जिल्लाबाट एसईई परीक्षामा १४८ वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी भएका थिए । जसमध्ये ४ जीपीए ल्याउने ब्राईटर एकेडेमी सिमरामात्रै हो । नियमिततर्फ जिल्लाभरबाट यस वर्षको एसईई परीक्षामा सहभागी भएका ८ हजार ७४३ र प्राविधिक तर्फ ४१४ जनामध्ये ब्राईटर एकेडेमीमा अध्ययनरत राहुलले मात्रै ४ जीपीए ल्याएका छन् । जिल्लामै उत्कृष्ट जीपीए ल्याएको भन्दै राहुल राय यादवलाई जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सम्मानसमेत गरेका छन् ।
जिल्लामा सामुदायिक विद्यालयतर्फ भने यसवर्ष श्री ३ चन्द्र मावि कलैयाका महेशकुमार गुप्ताले ३ दशमलव ९१ जीपप्ए ल्याएर उत्कृष्ट भएका छन् ।
![](https://www.gopyakhabar.com/storage/2024/08/Untitled-1-4.png)