काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार उनी शुक्रबार राजधानीको बौद्धबाट पक्राउ परेका हुन् ।
उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरीको खोजी सूचीमा रहेका उनी फरार रहँदै आएका थिए । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।
भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका थिए । प्रहरीले एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाडसहित भीआईपीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । सो प्रकरणमा रायमाझी अहिले पनि पुर्पक्षका लागि जेलमै छन् भने खाँण रिहा भएका छन् । यस्तै निलम्बित सचिव टेकनारायण पाण्डेलगायत थुनामा हुँदा अन्य केही भने धरौटीमा रिहा भएका छन् ।