काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेशामा आकर्षण बढाएर युवा जनशक्ति स्वदेशमै रोक्नुपर्ने बताएका छन्।

२१ औँ राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी उनले जमिन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

कृषि क्षेत्रमा जनशक्तिको अभाव बढ्दै जानु दुःखद रहेको भन्दै उनले धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बिउ र दक्ष जनशक्ति तयार गर्न तथा उत्पादन वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न हुने गरी ध्यान दिनुपर्ने बताएका छन्।

‘कृषिप्रधान मुलुक भएकाले अधिकांश जनता कृषिमै निर्भर रहेको र प्रमुख खाद्यान्न बाली धान रहेकाले धान खेती आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक रूपले समेत महत्त्वपूर्ण छ’, उनले भनेका छन्। राष्ट्रपति पौडेलले खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रूपमा लिई खाने बानीमा समेत परिवर्तन गरी अन्य बालीलाई समेत प्रवर्धन गर्नुपर्ने तर्क गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्