मनोज यादव/सर्लाही
सर्लाहीको मलंगवा नगरपालिकाका उपमेयर शकुन्तला देवी साहले वडा न-२ स्थित रहेको पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ।
“उममेयर छात्रवृत्ती कार्यक्रम”अन्तर्गत नगरपालिका भित्रका विभिन्न सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पुरस्कार तथा शैक्षिक सामाग्री वितरण गर्ने योजना अनुसार आइतवार सोही विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उपमेयर साहले २०८० सालको वार्षिक परिक्षामा प्रथम ,द्वितीय र तृतीय हुने कक्षा १ देखि कक्षा १० सम्मका ३३ जना विद्यार्थीहरुलाई पुरस्कारसहित कक्षा ४ र ५ का गरि ११७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
“गुणस्तरीय शिक्षा शिक्षाका लागि हाम्रो प्रयास” भन्ने पवित्र नारालाई सार्थक बनाउनका लागि विद्यालयहरुमा यो कार्यक्रम संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपमेयर साहले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका पब्लिक माविका प्राधानाध्यापक सुवास कुमार यादवले उपमेयर छात्रवृत्ती कार्यक्रम विद्यार्थीहरुको लागि अतिउपयोगी भएको साथै आर्थिक स्थिति कमजोर भएका अभिभावकहरलाई पनि यसबाट केही मद्दत मिलेको बताउँदै सामुदायिक विद्यालय र यहाँ अध्यनरत विद्यार्थीहरु प्रति देखाएको चासो र सहयोगका लागि उपमेयर साहलाई धन्यवाद दिएका थिए।
प्रती विद्यार्थी एक-एक थान झोला,औजार बकस,सामान्य ज्ञानको पुस्तक ,बहुउपयोगी पुस्तक,काँपी,कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ।
कार्यक्रममा नेपाली काँग्रेस मलंगवा नगर कमिटीका अध्यक्ष चन्द्र किशोर साह,विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बिरजु राय,सदस्य गोविन्दर साह,विद्यालयका शिक्षक,शिक्षिका लगातारको उपस्थिति रहेको थियो।