काठमाडौँ । जिल्ला अदालत सर्लाहीले बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ। ।
जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले अनलाइनखबरलाई बताए । यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बम्जनलाई दोषी ठहर गरेको थियो र सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो ।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो ।