असार १८ बारा/ कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहा हत्या प्रकरणमा बारा प्रहरीले थप एक जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका ५ पथराका ४२ वर्षीय हरिन्दर महरा चमार रहेका छन् ।

चमारलाई प्रहरीले दुई थान पेस्तोल र एक थान गोलीसहित नियन्त्रणमा लिएको हो । चमारले उक्त पेस्तोल आफ्नो बारीमा गाडेर राखेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार कुशवाहाको हत्यामा प्रयोग भएको हतियार लुकाउन भूमिका खेलेको आरोपमा चमारलाई पक्राउ गरिएको हो । चमारको बारीबाट कटुवा पेस्तोल एक थान, गोली लोड भएको अटोमेटिक पेस्तोल एक थान र त्यसको म्यागाजिन बरामद भएको न्यौपानेले जानकारी दिए ।

घटनाको अनुसन्धान गर्ने क्रममा प्रयोग भएका हतियार लुकाइएको स्थान खुलेको प्रहरीले जनाएको छ । आदर्श कोतवाल गाउँपालिका २ खजुरिया घर भएका कुशवाहाको जेठ ३२ गते सोही गाउँपालिका ३ बतरामा गोली हानी हत्या गरिएको थियो ।

मोटरसाइकलमा कलैयातर्फ आउँदै गरेका कुशवाहालाई मोटरसाइकलमै आएका व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहार गर्ने क्रममा कुशवाहा र ती व्यक्तिबीच विवाद समेत भएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका कुशवाहाको सोही दिन साँझ उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको थियो । कुशवाहा लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहेका थिए ।

उनको हत्याको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान र सोधपुछका लागि यसअघि सात जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्