काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । सो छलफलमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेका थिए ।
माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन बनाएपछि सो गठबन्धनमा रहेका लोसपा र जसपा नेपालले कांग्रेससँग मिलेर विपक्षी गठबन्धन बनाएका थिए । अहिले कांग्रेस–एमालेको गठबन्धन बनेको र सरकार बनाउने प्रयास भइरहेका बेला कांग्रेसले मधेसी दलहरूको साथ खोजेको हो ।