काठमाडौँ । जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरू शुरु हुँदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९:४५ बजेदेखि शुरु हुँदै छ ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।

स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्