पर्सा-आर्थिक नगरीको रुपमा चिनिने र राष्ट्रिय राजश्वमा सबै भन्दा बढी योगदान दिने वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ४१ अर्ब भन्दा बढी रुपैयाँ राजश्व संकलन गरेको छ ।
चालु आवको साउन देखि जेष्ठसम्मको ११ महिनामा भन्सार कार्यालयले १ खर्ब ४१ अर्ब ८९ करोड ४० लाख रुपैया राजश्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षको ११महिनाका लागि भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई २ खर्ब २४ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालयले लक्ष्य भन्दा ८२ अर्ब ७१ करोड ८२ लाख रुपैयाँ कम राजश्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ३७ प्रतिशत कम हो ।

विद्यमान विश्वव्यापी आर्थिक मन्दीका कारण वीरगन्ज नाका प्रयोग भइ नेपालका लागि हुने माल बस्तुको आयातमा आएको कमीले राजश्व संकलनको लक्ष्य हासिल गर्न नसकिएको वीरगन्ज भन्सार कार्यालयका सुचना आधिकारीक रघुलाल कर्णले जानकारी दिनुभयो । उहाँले वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन आयातमा आधारित भएको र भन्सारलाई सबै भन्दाबढी राजश्व दिने वाहन ,इन्धन, औद्योगिक कच्चापदार्थ लागयतका बस्तुको आयातमा कमी आएकाले राजश्व संकलन लक्ष्य अनुरुप हुँन नसकेको बताउनुभयो ।

गत आर्थिक वर्षको साउन देखि जेष्ठ सम्मका लागि भन्सार विभागले  कार्यालयलाई २ खर्ब ३७ अर्ब ५८ करोड ६३ लाख रुपैया राजश्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालयले लक्ष्य भन्दा ४० प्रतिशत कम अर्थात १ खर्ब ४२ अर्ब ३० करोड ४१ लाख रुपैयाँ राजश्व संकलन गरेको भन्सारले जनाएको छ

प्रतिक्रिया लेख्नुहोस्