फाईल तस्विर

 

पर्सा- करीब २ करोड बजेट अभावको कारणले देशकै मुख्य प्रवेश द्वार वीरगन्ज–रक्सौल सडक खण्ड अन्तर्गतको रजत जयन्ती चोकमा पर्ने जीर्ण सडक कालोपत्र हुन सकेको छैन ।

व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका योजना कार्यालयले गत पुसमा यो सडकखण्ड निर्माण गर्ने ठेक्का अघि बढाएको थियो । तर, अहिले बजेट अभावलाई देखाउँदै यो सडकको निर्माण कार्य अघि बढ्न सकेको छैन । केही समय अघि निर्माण कम्पनी निर्माणस्थलमा खटिए पनि अहिले भने सडक लथालिङ्ग अवस्थामा रहेको छ ।

व्यापारिक मार्ग विस्तार योजना अन्तरगत वीरगञ्ज–पथलैया सडक योजना कार्यालयका प्रमुख राजेशकुमार यादवले बजेट अभावको कारणले सडक विस्तारको काम हुन नसकेको बताएका छन् । ‘गत पुस २१ गते १ करोड ८० लाख लागतमा यो सडकखण्डको ठेक्का सम्झौता भएको थियो’, उनले भने, ‘अहिले बजेट अभावको कारणले यो सडकखण्ड अघि बढ्न सकेको छैन ।’

नेपालको प्रमुख आयात हुने नाकाको सडक लामो समयदेखि भत्किएर जीर्ण हुँदा पनि मर्मतसम्भारका काम अघि बढ्न सकिरहेको छैन । यो सडकखण्ड एक दशकदेखि अलपत्र हुँदै आइरहेको छ । मुलुककै मुख्य व्यापारिक नाका जोड्ने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कारणले दुवै मुलुकका सर्वसाधारण र सवारी चालकले हैरानी खेप्दै आइरहेका छन् ।

योजना कार्यालय र निर्माण कम्पनी बीच २१ पुस २०८० मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले यही वर्षको २१ असारभित्रै सडक निर्माण सम्पन्न गर्नुपर्नेछ ।

यो सडकखण्डको लागत भने १ करोड ८० लाख रुपैयाँ रहेको छ । योजना प्रमुख यादवले निर्माण कम्पनीलाई सडकको काम गर्न अनुरोध गर्दै आइरहेको बताए । यो सडकखण्डको चौडाइ १४ मिटर अर्थात् चार लेनको सडक कालोपत्र गर्न लागिएको हो ।

 

प्रतिक्रिया लेख्नुहोस्