जनकपुरधाम । जनमत नेतृत्वको मधेश सरकारले चार वटा दलका ६ मन्त्रीलाई बर्खास्त गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गरेका हुन् ।
माओवादी केन्द्रबाट मन्त्री बनेका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट मन्त्री बनेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने र उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रम तथा यातायात मन्त्री उर्मिलादेवी सिंह चौधरी र संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी गृह, संचार तथा कानुनमन्त्री बिमला अन्सारी बर्खास्तीमा परेका छन् ।