वीरगंज,
वीरगंजको आदर्शनगर रंगशालाको अगाडीको सार्वजनिक जग्गाको विवादमा एक दशक पछि सर्वोच्चले वीरगंज महानगरको पक्षमा फैसला दिएको छ ।
उक्त सार्वजनिक जग्गा आफ्नो रहेको भन्दै जुगुनु राज्य लक्ष्मी शाहले जिल्ला अदालत र तत्कालिन पुनरावेदन अदालत हेटौँडाबाट समेत आफ्नो पक्षमा फैसला गराउन सफल भएको भए पनि सर्वोच्च अदालतले आज महानगरको पक्षमा फैसला सुनाएको हो ।
जिल्ला र पुनरावेदन अदालतको फैसला चित्त नबुझेको भन्दै मुद्धा दोहोर्याई हेरी पाउँ भनि तत्कालिन वीरगंज उपमहानगरपालिका (हाल वीरगंज महानगरपालिका)ले २०६८ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सर्वोच्चले २०७१ असार २० गते मात्रै मुद्धा दोहोर्याई हेरी पाउने निस्सा दिएको थियो ।
त्यसपछि पटक पटक पेशी चढेर विभिन्न आदेश हुँदै आज भने सर्वोच्च अदालतका न्यायाधिशद्वय डा.कुमार चुडाल र कुमार रेग्मीको संयुक्त इजलासले जिल्ला र पुनरावेदन अदालतको फैसला उल्टाउँदै उक्त जग्गा महानगरपालिकाको हुने फैसला दिएको हो ।
यो सँगै वर्षौदेखि देखिएको उक्त जग्गाको विवाद निरुपण भएको छ ।
सर्वोच्चमा आज महानगरको पक्षबाट अधिवक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद, सुरेश पोखरेल, इश्वर बराल र धन बहादुर थापाले बहस गर्नु भएको थियो । जुगुनुको तर्फबाट भने पूर्व महान्यायाधिवक्ता समेत रहेका महादेव यादव, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, सुधिर कर्ण लगायत ८ जनाले बहस गर्नु भएको थियो ।
तत्कालिन छपकैया गाउँ पंचायत वडा नं. ७ हाल वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर रंगशाला अगाडीको कित्ता नं. ५७ को करोडौ मुल्य पर्ने ३ कट्ठा ९ धुर जग्गा अब महानगरको अधिनमा आएको छ ।
नगर विकास समितिले त्यसबेला अधिग्रहण गरेर लिएको उक्त जग्गा व्यक्ति विशेषले आफ्नो बनाउन लागि परेका थिए ।
सर्वोच्चको आदेशसँगै सार्वजनिक जग्गा व्यक्तिगत बनाउन खोज्नेहरुको प्रयास विफल भएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
अतिक्रमित सार्वजनिक जग्गाको खोजी गर्दै खाली गराउने अभियानका साथै विभिन्न समयमा अदालतमा जाहेर भएका जग्गा सम्बन्धी मुद्धाहरुमा समेत प्रमाण संकलन गरेर महानगरले आफ्नो पक्षमा ल्याउने काम गरिरहेको उहाँले बताउनुभयो ।
यस अघि जीपी फाउण्डेसनको नाममा अतिक्रमण गरेर कांग्रेस नेता समेत रहेका महम्मद साहबुद्धिनले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएको आदर्शनगरकै १ कट्ठा जग्गा समेत आफ्नो पक्षमा ल्याउन महानगर सफल भएको थियो