सिराहाको नरहा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

पर्सा – सिराहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन सुरेशकुमार कुसियैतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज औषधि खरिदमा अनियमितता गरेको आरोपमा दुवै जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७४र०७५ मा कार्यालयले नियोमेड इन्टरनेशनलसँग ५७ प्रकारका औषधिजन्य मालसामानहरूको खरिद गरेको थियो। सो क्रममा नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन बिना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी गरिएको थियो।

५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट ६ लाख,२० हजार, ९६ रुपैयाँ बराबरका औषधिजन्य मालसामानहरू वितरण नगरी–नगराई औषधिजन्य मालसामानहरू हानिनोक्सानी गरे–गराएको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ अनुसारको कसुर रहेको भन्दै तत्कालीन प्रशासकीय अधिकृत झामाथि ६ लाख २० हजार ९६ रुपैयाँ बराबरको बिगो दाबी माग गरिएको छ।

त्यस्तै गाउँपालिकाका तत्कालीन लेखाप्रमुख कुसियैतले औषधिजन्य मालसामानहरूको बिल बमोजिमको रकम आपूर्तिकर्तालाई भुक्तानी गर्दा नियम विपरित कार्यालय प्रमुखले प्रमाणित गरेको जिन्सी दाखिला प्रतिवेदन र भुक्तानी आदेश बिनै सम्पूर्ण रकम भुक्तानी गरी ५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट ६ लाख २० हजार ९६ रुपैयाँ बराबरका औषधिजन्य मालसामानहरू हिनामिना गरेको अख्तियारको ठहर छ।

उनीमाथि पनि सोही रकम बराबरको बिगो दाबी माग गरिएको प्रवक्ता घिमिरले बताए।

प्रतिक्रिया लेख्नुहोस्