
विराटनगरमा गएराती भएको हत्याको घटना केटी जिस्क्याएको निहुँमा भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार कटहरी गाउँपालिका १ का २१ वर्षीय युवक करण कामतको हत्या भएको हो । ४ जना पक्राउनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोनु गिरी, दावा शेर्पा, सञ्जय पुरी र एक जना नाबालक छन् । पक्राउ परेका सञ्जय भोजपुरका हुन् भने शेर्पा ताप्लेजुङका हुन् । उनीहरू विराटनगरमै डेरा गरी बस्छन् । अन्य दुई जनाको घर भने विराटनगरमा भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका– २ स्थित नेपाल टेलिकमको कार्यालय नजिकै कैँचीले प्रहार गरेर कामतको हत्या गरेको प्रहरीको भनाइ छ ।
‘कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘गम्भीर अवस्थामा भेटिएका कामतको उपचारका क्रममा मृत्यु भएको छ ।’घटनामा परी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । घाइतेमध्ये रायको अवस्था गम्भीर छ । दुवै जनाको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ । रायको कोखा र ढाडमा चोट देखिएको छ भने मण्डलको पाखुरा र ढाडमा चोट लागेको छ ।
बाटोमा हिँडिरहेको बेलामा केटी जिस्क्याएको विषयमा विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
