काठमाडौं – बिहीबार बसेको प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले सरकारको उपस्थिति नभएको बैठक चल्छ कि चल्दैन भनी सभामुख देवराज घिमिरेलाई प्रश्न गरेका थिए । उनले मन्त्रिपरिषद्का सदस्यलाई संसदमा उपस्थित हुनुपर्छ भन्ने जानकारी छ कि छैन भनेर पनि प्रश्न गरे ।

‘संसद् चलेका बेला मन्त्री उपस्थित हुनुपर्छ कि पर्दैन, कोही पनि उपस्थित नभएको संसद् चल्छ चल्दैन सभामुखको कुर्सीबाट म जान्न चाहन्छु’, उनले भने ।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली ७९ को नियम ६ को ५ बमोजिम प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए ।

तर बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीहरू उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी दिए।

प्रतिनिभि सभाको अर्को बैठक अब शुक्रबार बिहान ११ बजे बस्नेछ। शुक्रबारकै बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम छ।
प्रतिक्रिया लेख्नुहोस्