देशको खबर
१. सिमलताल पहिरोः तीन वटै सुरक्षा निकायबाट उच्चतम प्रविधिको प्रयोग, बेपत्ताहरुको खोजि तिब्र पानी संग्लिए र लेदोसहितको बाढी नआए खोजि गर्न सहज हुन्थ्योः सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बलले चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजि कार्य तिब्र पारेको जनाएको छ ।
शुक्रवार बिहान चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुली नदीमा बेपत्ता यात्रुसहित दुई वटा बस बेपत्ता भएका थिए । जसमा जसमा ६० भन्दा बढी यात्रुहरु रहेको बताइएको छ । यद्यपि यकिन हुन अझै सकेको छैन । बसमा टिकट काटेर आउने बाहेकका यात्रुहरु पनि रहेको हुनसक्ने अनुमान छ । शुक्रवार बिहानबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा बेपत्ताको खोजि कार्य जारी राखेपनि आशातित परिणाम प्राप्त गर्न सकेको छैन । जसकारण सरकाप्रति आम नागरिकहरु रुष्ट छन् ।
सरकारले बेपत्ता नागरिकहरुको खोजि कार्यमा तदारुकता नदेखाएको गुनासो आम नागरिकको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले त्रिशुली नदी यहाँबाट बुझेको र त्यहाँ भएको परिस्थितिमा धेरै फरक रहेको बताउनु भयो ।
उहाँले अहिले नदीमा लेदोसहितको बाढी आइरहेकाले पानी धमिलो हुँदा बेपत्ताहरुको खोजि कार्य प्रभावित बनिरहेको बताउनु भयो । उहाँले धमिलो पानी र लेदोसहितको बाढीले सुरक्षा निकायले आशातित परिणाम दिन नसकेको बताउनु भयो । ४-५ वटा शवहरु करिव ५५-६० किलोमिटरको फरकमा फेला परेको र बसको अझै पत्ता नलागेको बताउनु भयो । उहाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तीन वटै सुरक्षा निकायसँग भएको उच्चतम प्रविधिको प्रयोग गरेर खोज्ने काम भइरहेको बताउनु भयो । लेदो कम हुने र पानी केही मात्रामा संग्लिएको खण्डमा भने गोताखोर टोली नदीमा जान सक्ने र ड्रोन क्यामेरा प्रयोगबाट खोज्न सक्ने अवस्था आउने बताउनु भयो ।
२ .केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भाेली ११ बजे सपथ लिने
नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएसँगै नयाँ प्रधानमन्त्रीमा अध्यक्ष ओलीले दाबी पेश गरेका थिए । उनले १६६ सांसदसहित दाबी पेस गरेका थिए । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्रस्तावमा पेश भएका उनलाई राष्ट्रपतिले नियुक्त गरेका हुन् । उनको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ।
राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे शीतलनिवासमा प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोह सबै सांसदहरूलाई साढे १० बजेभित्रै शीतलनिवास पुग्न आग्रह गर्दै संसद् सचिवालयलाई पत्र पठाएको छ।
३.विरगंजको मुख्य नाका बाट सुन तस्करी : रक्सौलमा २ किलो सुन पक्राउ
पर्सा- जिल्लाको मुख्य नाका विरगनज पुनःह सुन तस्करको हब बन्दै गएको रहस्य उजागर भएको छ ।
गैरकानुनी तरिकाले तस्करहरु नेपाल लाई प्रयोग गर्दै सुन तस्करी गर्नु नैलो कुरा रहेन । तर सुन तस्करहरुले विरगन्ज लाई भारतको विभिन्न सहरमा सुन तस्करी गर्ने ट्रान्जिट पोइनट बनाएका छ्न ।
भारतको को राजस्व खुफिया निर्देशनालय (डि.आर.आइ) पटनाको बिभागले २ किलो अबैध सुन सहित ४ जना लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
शनिबार पटनाको डि.आर.आइ बिभागले बिरगंजको मुख्य भन्सार हुँदै रक्सैल प्रवेश गर्ने स्कार्पियो बाट अबैध २ किलो सुन सहित १ जना महिला र ३ जना पुरुष तस्कर लाई आफ्नो नियन्त्रण लिएको हो ।
विशेष सुचनाको आधारमा पटना बाट खटिएको बिभागले युपि ५० सिएस ००५० नमबरको स्कार्पियो लाई इनर्वा नाकाक्ट्ने बितिकै भारत पेट्रोलइयमको गेट नजिक रोकि खानतलासी गर्दा १ जना महिल र ३ जना पुरुष लाई २ किलो अबैध सुनसहित पक्राउगरि आफ्नो नियन्त्रणमा लिएको डि.आर.आइले जनाएको छ ।
बिभागको अनुसार दुबई बाट काठमाडौ हुँदै बिरगंजको नाका भएर रक्सैल बिहारको बाटो प्रयोग गरि तस्करहरुले आफ्नो संजाल दिल्ली सम्म फैलाइएको सूचना रहेकोले सोही सुचना लाई प्रयोग गर्दै आफुहरु लाई विशेष सुराकी आएको थियो सोही अनुसार आज निज तस्करहरु लाई अबैध २ किलो सुन सहित पक्राउ गरिएको बताएको छ।
पक्राउ गरिएका तस्करहरू बारे आवस्यक अनुसधान भएपस्चात मात्र थप बिवरण दिने बिभागले जनाएको छ । निजहरु लाई थप अनुसन्धानको लागि पटना बाट आएको डि.आर.आइ बिभागले नियन्त्रण राखेको छ ।
राजस्व खुफिया निर्देशनालय( डि.आर.आइ ) एक भारतीय गुप्तचर निकाय हो।यसले लागुऔषध, सुन, हिरा, इलेक्ट्रोनिक्स, विदेशी मुद्रा र नक्कली भारतीय मुद्रा लगायतका धेरै वस्तुको तस्करी रोक्न यो निकायले विशेष काम गर्ने गर्दछ्।
देशकै मुख्य ब्यपारिक नाका इनर्वामा सस्त्रप्रहरी , नेपाल प्रहरी , भन्सार कर्मचारी र लाखौ मुल्यमा जडान गरिएको सिसि टिभी लाई चक्मा दिइ मुख्य नाका बाटै प्रयोगरी यसरी ठूलो परिमाणमा सुन तस्करी हुनु यस्ले पर्साका सम्पुर्ण सुरक्षा निकाय लाई चुनैती थपेको जानकारहरुले बताएका छ्न ।
४ . गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस्ः गृहमन्त्री लामिछाने
कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गर्नुभएको छ ।
आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताउनु भयो । उहाँले आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको बताउनु भयो । उहाँले आफूले नेपाल प्रहरीमा कुनैपनि विधि मिच्ने काम नगरेको जिकिर गर्नुभयो ।
उहाँले आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताउनु भयो । गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने बताउनु भयो । सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भएपनि राज्यका सुरक्षा निकायको गोपनियतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताउनु भयो । उहाँले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको बताउनु भयो । सरकार निर्मला पन्तको अनुसन्धानको अन्तिममा पुगेको दाबी गर्नुभयो ।
५.परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्न सधैँ प्रयत्न गर्नेछुः निःवर्तमान उपप्रधानमन्त्री श्रेष्ठ
निःवर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्ने बताउनुभएको छ ।
आईतवार अपरान्ह मन्त्रालयका आयोजित विदाई समारोहमा बोल्दै उहाँले मुलुकको परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाउनका लागि पनि आफू सो मन्त्रालयको अन्तरंग निकट रहेर काम गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो । निःवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले आफूले नयाँ बन्ने परराष्ट्र मन्त्रीलाई निकट रहेर साथ दिन चाहेको बताउनु भयो ।
भोलेन्टियरको रुपमा परराष्ट्र मन्त्रालयका काम गर्न आफूले अब बन्ने मन्त्रीसँग निवेदन हाल्न चाहेको उहाँको भनाई थियो । उहाँले परराष्ट्र नीतिको पक्षमा आफूले सदैव सम्बन्धित पक्षहरुसँग छलफल, संवाद र अन्तरक्रिया गर्ने बताउनु भयो ।
उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयसँग त म अन्तरंग निकट रहन्छु ।
ताकि परराष्ट्र मन्त्रालयले परराष्ट्र सम्बन्धलाई सही ढंगले अघि बढाओस् । परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाओस् । कूटनीतिक अभ्यास सही ढंगले गरोस् । त्यसको निम्ति आफ्नो तर्फबाट तपाईहरुसँग निकटमा रहेर छलफल गर्ने र समाधानका प्रयत्नहरु गर्ने । यसलाई उन्नत स्तरको संसारको अहिलेको आवश्यकतालाई मिट गर्नसक्ने परराष्ट्र मन्त्रालयको रुपमा विकसित गर्ने काममा म तपाईहरुको साथमा रहनेछु ।
मैले त भनेको पनि थिए–अर्को मन्त्री जो आउनु होला । एउटा निवेदन त मैले हाल्नुपर्ला जस्तो छ । मलाई भोलेन्टियर भएपनि सल्लाहकार भएपनि बनाउनु न । केही समयका लागि । पूरै समय त म दिन सक्दिन । मान्छे के के गर्ने तपाई गर्नुस् । सिष्टम स्थापित गरिदिन्छु भन्ने पनि हुन्छ ।
तर केही कामहरु छ यो मन्त्रालयको । त्यसलाई पूरा गर्न मलाई तपाईको भोलेन्टियर बनाउन न भन्न मलाई मन लागिरहेको छ । त्यसरी भनेपनि नभनेपनि म यो कामहरुलाई पूरा गर्न दृढतापूर्वक राज्यको सबै पक्षहरुसँग छलफल, संवाद, अन्तरक्रियामा हुनेछु । त्यसको निम्ति मेरो सधै प्रयत्न रहनेछ ।’
६ . काजुको व्यावसायीक खेतीतर्फ आकर्षित हुँदै किसान
मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् ।
पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरुको संख्या बढ्दो छ । काजु देखी ड्रागन, अंगुर काजु, एभोकाडो, किभीको खेती फस्टाइरहेको छ । खेतीका लागि कृषकको आकर्षण पनि बढ्दो र बजारको माग पनि उच्च छ । आजभोली मोरङको पथरी शनिश्चरे ३ का भुवनेश्वर पोख्रेलको दिनचर्या फेरिएको छ ।
पूर्वशिक्षक पोख्रेल बिहान बेलुका आफ्नो बारीमा काजुको बिरुवा स्याहार गरिरहेका हुन्छन् । उमेरले ७५ वर्षे पुगे पनि उनको जोश भने युवाको झैँ छ । करिव ३ वर्षअघि तीर्थयात्राका लागि भारतको चारधाम जादा ऋषीकेशबाट ल्याएको काजुको बिरुवाले पोख्रेललाई व्यवसायी बनाएको छ ।
तीन वर्षपछि नै तिनै बिरुवाले उत्पादन दिन थाल्यो । अहिले करिव ३ कठ्ठा जग्गामा पोख्रेलले काजुका बिरुवा लगाउनुभएको छ । पोख्रेलको बारीमा अहिले काजुदेखि ड्रागन, अंगुर सम्मका बिरुवा छन् । पोख्रेलले रोपेको काजुले उत्पादन दिन थालिसकेको छ । काजु फल्न थालेपछि खुशी हुनुभएका पोख्रेलले काजुका बिरुवा समेत उत्पादन गर्न थालिसक्नु भयो ।
पहिलो वर्ष ५ केजी उत्पादन भएको काजुलाई पुनः रोपेर पोख्रेलले विरुवा उत्पादन गर्नुभयो । तिनै बिरुवावाट अहिले उत्पादन शुरु हुन थालेको छ ।
नेपालमा पनि काजुको व्यावसायीक खेती सम्भव हुन्छ भन्ने उदाहरण बन्नुभएको छ । छोटो समयमा राम्रो आम्दानी हुने भएकाले व्यावसायीक रुपमा काजुको खेती गराउन बिरुवा उत्पादन गरी विक्रीवितरण थालेको उहाँको भनाइ रहेको छ । सामुन्द्रिक सतहवाट १ हजार ६ सय मिटर सम्मको उचाइमा हुने काजुको खेती गर्न सकिन्छ । काजुको विरुवा १० फुट भन्दा अग्लो हुन्छ ।
हाल बार्षिक ५ सय भन्दा बढी बिरुवा उत्पादन गर्दै आउनुभएका पोख्रेलले स्थानिय क्षेत्रमा ७५ रुपयाँको दरले बिक्री वितरण गर्दै आउनुभएको छ । नर्सरीवाटै झापा, मोरङ्ग र सुनसरी सम्म बिरुवा बिक्री भएपछि पोख्रेलको मुहारमा खुशी छाएको छ । बिरुवाको माग पहाडी जिल्ला तेह्रथुमसम्म हुन थालेको छ ।
७.प्रधानन्यायाधीशलाई नेपाल बारको चेतावनीः न्यायाधीशको वरियतासम्बन्धि नियमावली खारेज नभए आन्दोलन हुन्छ
नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट गरी न्यायाधीशको वरियतासम्बन्धि संशोधित नियमावली तत्काल खारेज गर्न माग गरेको छ ।
आईतवार प्रधानन्यायाधीश श्रेष्ठसँग भेट गरी एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले भेटगरी रजिष्ट्रार, मुख्य रजिष्ट्रार र सचिवहरुको वरियता माथि हुने प्रावधानप्रति असन्तुष्टि बढेको उल्लेख गर्दै सो संशोधित नियमावली तत्काल खारेज गर्न प्रधानन्यायाधीश श्रेष्ठसँग माग गरेको हो ।
न्याय परिषद्ले २०८० साल असोज १ गते संशोधन गरेको सो नियमावलीले न्यायाधीशहरुको वरियतामा गरेको परिवर्तनप्रति असन्तुष्टि भएकाले त्यसलाई खारेज गर्न प्रधानन्यायाधीशको ध्यानाकर्षण गरिएको नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
उहाँले आफूहरुको सो माग पूरा नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनुभयो । त्यसैगरी बारले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश रहन नहुने, न्याय परिषदको पुनर्संरचना गर्नुपर्ने, सर्वोच्च अदालतका न्यायाधीशको संख्या थपेर २५ बनाउनुपर्ने, साथै उनीहरुको कार्यावधि तोक्नुपर्ने सम्मको विषयहरुको बारेमा संविधान संशोधन गरेर जानुपर्ने एजेण्डा कार्यान्वयन गर्न पनि प्रधानन्यायाधीश श्रेष्ठलाई सचेत गराएको छ ।
नेपाल बार एशोसिएनको १६ औँ राष्ट्रिय सम्मेलनले संविधान संशोधन सम्बन्धि ८ बुँदे एजेण्डा पारित गरेको थियो । त्यसमा उल्लेखित विषयहरुलाई अघि बढाउन पनि प्रधानन्यायाधीश श्रेष्ठलाई अनुरोध गरेको अध्यक्ष घिमिरेले बताउनु भयो ।
अर्थ खबर
८.नयाँ सरकारप्रति पुँजीबजार सकारात्मकः नेप्से परिसूचक ५२।९७ अंकले वृद्धि
नयाँ सरकार गठन प्रक्रिया भएसँगै नेप्से परिसूचक ५२।९७ अंकले बढेको छ ।पुष्पकमल दाहाल नेतृत्वको १८ महिने सरकार ढलेपछिको भएको शेयर कारोबारमा उत्साहजनक देखिएको छ ।
नयाँ अर्थमन्त्री एमालेका उपाध्यक्ष विष्णु पौडेल बन्ने खबरसँगै शेयर बजारमा हरियाली छाएको छ । आईतवार नेप्से परिसूचक ५२।९७ अंक बढेर २२५७।५९ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ९।५९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३।८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३।४८ अंकले बढेको छ ।
आईतवार कारोबारमा आएका ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत बिहीवार ७ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको थियो । अघिल्लो कारोबार भन्दा आईतवार कारोबारमा वृद्धि भएको छ ।
बिदेशको खबर
९. इजिप्ट र सर्बियाद्वारा सहयोग सम्झौतामा हस्ताक्षर
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका सर्बियाका समकक्षी एलेक्सान्डर भुकिकले कायरोमा दुई देशबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । व्यापार, लगानी, सूचना तथा सञ्चार प्रविधि, पुरातात्विक वस्तु तथा सङ्ग्रहालय, भन्सार र रोजगारीका विभिन्न क्षेत्रलाई समेट्ने समझदारीमा दुई नेताबीच कायरो र बेलग्रेडबीचको सहकार्यलाई बढावा दिने विषयमा भएको वार्तापछि हस्ताक्षर भएको हो ।
इजिप्टका राष्ट्रपतिले आफ्नो ऐतिहासिक मित्रतालाई सुदृढ गर्न दुवै देशको पारस्परिक हितमा जोड दिनुभयो । सर्बियाली राष्ट्रपतिले कायरोमा हस्ताक्षर गरिएका सम्झौताहरूले दुई देशहरू बीचको व्यावसायिक, आर्थिक र औद्योगिक सहयोगको सम्बन्धलाई बलियो बनाउन योगदान गर्ने बताउनु भयो ।
आउँदो अवधिमा इजिप्टमा सर्बियाका लगानीकर्ताहरूको भ्रमण बढ्दै जाने र सर्बियामा इजिप्टका लगानीकर्ताहरूलाई स्वागत गर्ने बताउनु भयो । दुई नेताले युक्रेनी संकट, सुडान र लिबियाको घटनाक्रम र गाजा पट्टीको वर्तमान द्वन्द्व लगायत विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदानप्रदान गर्नुभयो ।
१०. मस्कोमा विमान दुर्घटनाः ३ जनाको मृत्यु
रुसको मस्कोमा विमान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको रुसी आपतकालीन मन्त्रालयले जनाएको छ । प्रारम्भिक जानकारीका अनुसार रुसी डिजाइन गरिएको सुपरजेट १०० विमान मस्को क्षेत्रको कोलोमेन्स्की जिल्लाको जङ्गल क्षेत्रमा खसेको थियो । निर्धारित मर्मतपछि परीक्षण उडानको क्रममा दुर्घटना भएको हो ।
११.ट्रम्पमाथि गोली प्रहारपछि बाइडेनः यस्तो हिंसाको लागि कुनै ठाउँ छैन
अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताउनुभएको छ । बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित काम भएको बताउनु भयो । यस्तथा गतिविधिले देशलाई एकजुट बनाउनबाट रोक्ने बताउनु भयो ।