
पर्सा- पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका दुई वटा यात्रुवाहक बसमा सवार १४ यात्रु मृत भेटिएका छन्।
सोमबार त्रिशूली र नारायणी नदीमा खोजबिनका क्रममा १४ यात्रु मृत भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमध्ये पाँच यात्रुको सनाखत भएको र ९ जनाको सनाखत हुन बाँकी रहेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जनाएका छन्।
सनाखत भएका यात्रुमा चितवनका विकास परियार, सर्लाहीका रमितकुमार माझी, भारतका ऋषिपाल साह, जयप्रकाश ठाकुर र सजाद अन्सारी छन्। अन्य हराइरहेका यात्रुको खोजीमा ५०० जना खटिएका छन्। जसमा २८ जना गोताखोर छन्।
सिमलतालदेखि ४० किलोमिटर तल गण्डक बाँधसम्म खोजी भइरहेको छ। खोजबिनमा एअर ड्रोन, वाटर ड्रोन, सोनार क्यामेरा, बाइनाकुलर टेलिस्कोप लगायत सामग्री प्रयोग भइरहेको जनाइएको छ।
आफन्तको खोजीमा आएका सर्वसाधारणलाई स्थानीय होटल व्यवसायीहरुले निःशुल्क खाना र वासको व्यवस्था गरिएको होटल तथा प्रयटन ब्यवसाई संघ नेपालका उपा अध्यक्ष हरीपंतले जानकारी दिए।
काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ र वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका थिए। बसमा सवार ६५ जनामध्ये तीन जना पौडी खेलेर जोगिएका थिए।
दुई जना उपचारपछि घर फर्किसकेका छन्। एक जनाको भरतपुरमा शल्यक्रिया गरिएको र उपचार भइरहेको प्राधिकरणले जनाएको छ।
(बेपत्ताको सूची)
