काठमाडौं – गृहमन्त्री रमेश लेखकले कुनैपनि बेला विपद्का घटना हुनसक्ने भन्दै उच्च शतर्कता अपनाउन मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

मंगलवार मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्षा हुने समय अझै बाँकी रहेकाले त्यसलाई मध्यनजर गरी शतर्कता अपनाउन आग्रह गर्नुभयो ।

उहाँले यस वर्ष भारी वर्षा हुने आँकलन विज्ञहरुले गरेको भन्दै सुरक्षा निकाय, प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकार सजग रहनुपर्ने बताउनु भयो । उहाँले पूर्वसूचना प्रणालीका कारण विगतको तुलनामा कम क्षति भएपनि अझै क्षति न्युनिकरण गर्न शतर्क रहन आग्रह गर्नुभयो । उहाँले कुनैपनि बेला वर्षा हुने र त्यसले ठूलो क्षति निम्त्याउनसक्ने भन्दै कुनैपनि समयका लागि शतर्क भएर रहन आग्रह गर्नुभयो ।

उहाँले मन्त्रालय र प्राधिकरणको समन्वयलाई थप सुदृढीकरण गर्दै अन्तर मन्त्रालयसँगको समन्वयलाई प्राथमिकता दिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, अझै बाँकी छ, वर्षा हुने समय । आज हामी साउन १ गतेमा छाँै । कार्तिकमा पनि बाढी आएको छ । यसपालि झनै बढी वर्षा हुने भनिएको छ । अहिले जनको क्षति घटेको छ । किनभने तपाईंहरुले सूचना दिइराख्नुभएको छ । सूचना पहिल्यै दिएन भने अचानक बाढी आउँछ, मान्छे घरभित्रै थुनिने र उद्धार हुन नसक्ने स्थिति छ । अझै पनि कुनैपनि बेला वर्षा हुनसक्ने भएकाले मन्त्रालयका र सम्बन्धित सबै साथीहरुलाई उच्च शतर्कतामा बस्न अनुरोध गर्दछु ।

जुनसुकै बेला जहाँ पनि विपद् निम्तिन सक्छ । जुनसुकै बेला, जुनसुकै ठाउँमा प्राकृतिक विपद्, प्रकोप हुनसक्ने भएकाले शतर्क रहनुपर्छ । मन्त्रालय र प्राधिकरणको समन्वयलाई थप सुदृढीकरण गर्नुपर्छ । स्वास्थ्य, जलश्रोत, भौतिक पूर्वाधार योसँग सम्बन्धित भएका प्रदेश सरकार, स्थानीय तहसँग पनि समन्वयन हुनेगरी प्रभावकारी रुपमा काम गर्नुपर्छ ।’

गृहमन्त्री लेखकले स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, प्रदेश र स्थानीय सरकारसँगको समन्वय बढाउन र प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभयो । उहाँले विपद् सुरक्षा सम्बन्धी आवश्यक जनशक्ति र श्रोत साधनका लागि चाहिने रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग कुरा गर्ने पनि बताउनु भयो । उहाँले न्युनतम कर्मचारी बढाउने गरी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । आर्थिक कारणले कुनैपनि काम नरोकिने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले अरु खर्च कटौति गरेर भएपनि नागरिकको ज्यान बचाउने कुरामा सरकार लाग्ने बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्