पर्सा – मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले अन्ततः अर्थ मन्त्रालय दिन तयार भएपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुन लागेको छ ।
बिहीबार बिहान बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले अर्थ मन्त्रालय पाए मात्र सरकारलाई समर्थन कायम राख्ने रणनीति बनाएपछि मुख्यमन्त्री सिंह त्यसमा सहमत भएका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले अर्थसहित ४ वटा मन्त्रालय दिनका लागि मुख्यमन्त्री सिंह सहमत भएपछि आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुन लागेको बताए ।
कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिल कुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
आज साँझ ५ बजे कांग्रेसका तर्फबाट सरकारमा जाने मन्त्रीहरूको शपथग्रहणको तयारी भइरहेको छ ।