पर्सा- सत्ता समीकरण फेरबदल भएसंगै मधेश प्रदेशमा उत्पन्न भएको विवाद साम्य भएको छ । सत्ता भागवण्डा अन्तर्गत जनमत पार्टीले आफ्नो हठ नत्याग्दा लामो समयको कलहपछि नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।
मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासका मत लिनका लागि गरेका भद्र सहमतिबमोजिम कांग्रेससंग कार्यान्वयन नगर्दा कलह उत्पन्न भएको थियो । लामो समयको छलफललाई समेत बेवास्ता गर्दा प्रदेशको सत्ता समीकरणमै संकट उत्पन्न हुने अवस्था अन्तिम चरणमा पुगेपछि जनमत पार्टीले आफ्नो सत्ता जोगाउन हठ त्यागेपछि मन्त्रिमण्डलले पूर्णता पाएको छ ।
मधेश प्रदेश सरकारमा कांग्रेस र लोसपाका मन्त्रीहरुले बिहीबार नै शपथ लिएका छन् ।
मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । प्रदेश प्रमुख भण्डारीले अर्थ मन्त्रीमा रौतहटका सुनिल यादव, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा पर्साका जनार्दन सिंह क्षेत्री, ऊर्जा सिँचाई तथा खानेपानीमन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायातमन्त्रीमा सर्लाहीका कौशल किशोर रायलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी प्रमुख सचेतक रानी कुमारी तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिएकी छन् । कांग्रेसले एक साताअघि नै मन्त्रीको नाम टुंगो लगाइसकेको थियो । तर जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्न खोजेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो ।
कांग्रेसले अर्थ मन्त्रालय नपाउने देखेपछि मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीसमेत दिएको थियो । बिहीबार कांग्रेसको मधेश प्रदेश कार्यालय जनकपुरधाममा संसदीय दलको बैठक बसेको थियो । संसदीय दलको बैठक बसेकै क्रममा अर्थसहित चार वटा मन्त्रालय दिन जनमत सहमत भएपछि कांग्रेसले नयाँ सरकार बनाउन थालेका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्दै ब्याक भएको थियो ।