काठमाडौँ– आगामी सोमवारदेखि फ्रान्सको पेरिस शहरमा हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा प्रतिष्पर्धा गर्ने अधिकांश नेपाली खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने लक्ष्य राखेका छन् ।
उक्त ओलम्पिकमा नेपालको ६ खेलका सात खेलाडीले चुनौती प्रश्तुत गर्दैछन् । शुक्रवार राष्ट्रपति भवनमा आयोजित बिदाई कार्यक्रममा रहेका चार खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने लक्ष्य रहेको बताए । सुटिङकी खेलाडी सुस्मिता नेपालले तयारी राम्रो भएको र ओलम्पिकमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महिला १० मिटर एयर राइफलमा चुनौती प्रश्तुत गर्दै हुनुहुन्छ । यस विधामा उनले आफ्नो रेकर्ड सुधार गर्ने पनि उल्लेख गर्नुभयो ।
नेपालले जुडो खेलमा पनि चुनौती प्रश्तुत गर्दैछ । यस खेलमा मनिता श्रेष्ठ प्रधानले महिला ७५ केजी मुनि तौलसमूहमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । मनिताले पदक नै जित्ने लक्ष्य रहेको र हरेक बाउट आफ्नो पक्षमा पार्ने बताउनु भयो ।
जुनियरमा विश्व पूर्वनम्बर एक ब्याडमिण्टन खेलाडी प्रिन्स दाहालले पनि पेरिस ओलम्पिकमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । उहाँले समूहचरणमै विश्व वरीयताको दोस्रो स्थानमा रहेका भिक्टर एक्सेलसनको चुनौती सामना गर्दै हुनुहुन्छ । पेरिस ओलम्पिकमा कठिन समूहमा ‘पी’ मा रहनुभएका प्रिन्सले खेलमा के हुन्छ भन्ने अनुमान गर्न नसकिने उल्लेख गर्दै आत्मविश्वासका साथ जित्नेगरी खेल्ने लक्ष्य रहेको धारणा राख्नुभयो ।
ओलम्पिक खेल्ने नेपालका पहिलो ब्याडमिण्टन खेलाडी प्रिन्सले समूहमा ६० औं स्थानभन्दा माथिका प्रतिष्पर्धीसँग खेल्नु हुनेछ । उहाँ भने हाल विश्वको १९० औं स्थानमा हुनुहुन्छ । यद्यपि, लामो समयदेखि ओलम्पिकको तयारी गरिरहनुभएका प्रिन्सले यादगार प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
नेपालले एथ्लेटिक्सतर्पm म्याराथनतर्पm चुनौति प्रश्तुत गर्दैछ । नेपालका लागि सन्तोषी श्रेष्ठले प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । गत वर्षमा चीनमा सम्पन्न १९ औं एशियाली खेलकुदमा सहभागी हुनुभएकी सन्तोषीले तयारी निकै राम्रो भइरहेको र आगामी पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो । उहाँले ओलम्पिक खेल्नु भनेको चुनौति रहे पनि सँगै अवसरको रूपमा पनि लिएको बताउनु भयो ।
आफूमा भएको भयलाई जित्दै पुराना नतिजाभन्दा राम्रो गर्ने आशा रहेको सन्तोषीको भनाइ छ । नेपालले बाँकी दुई खेल टेबल टेनिस र पौडीमा चुनौती पश्तुत गर्दैछ । टेबल टेनिसका स्यान्टु श्रेष्ठले दक्षिण एशियाली क्षेत्रबाट छनोट चरण पार गर्दै ओलम्पिक खेल्न लाग्नुभएको हो ।
उहाँ हाल अस्ट्रेलियामा नै तयारी गरिरहनुभएको छ । त्यहाँबाटै उहाँ ओलम्पिकमा सहभागी हुनुहुनेछ । पौडीबाट दुई खेलाडी एलेक्सजेन्डर शाह र डुवाना लामाले प्रतिष्पर्धा गर्दैछन् ।
शाहले एक सय मिटर फ्रिस्ट्याल र डुवानाले दुई सय मिटर फ्रिस्ट्यालमा खेल्नेछन् । शाहले अस्ट्रेलिया र डुवानाले थाइल्यान्डमा प्रशिक्षण गरिरहेका छन् । यी दुवै पनि त्यतैबाट पेरिस ओलम्पिक पुग्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । नेपालमा तयारी गरिरहेका खेलाडी भने आगामी जुलाई २२ मा पेरिस जाँदैछन् ।