काठमाडौं–
वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले नेपाल रेडक्रस सोसाइटीको कन्द्रिय पदाधिकारीमा भएको समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय रक्तसञ्चार केन्द्रको ५९ औं स्थापना दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दैविक विपत्ति भएका क्षेत्रमा सबैभन्दा पहिला सहयोगका लागि रेडक्रस नै पुग्ने गरेको भन्दै रेडक्रसले अझै थप सेवा बिस्तार गर्दै लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल रेडक्रस अन्तर्राष्ट्रिय स्तरको संस्था भएको उल्लेख गर्दै पदाधिकारीहरुबीच भएको विवादले छवि धमिलिएको बताउनु भयो । उहाँले गुमेको रेडक्रसको छविलाई नयाँ तरिकाबाट फर्काउने गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो ठाउँबाट नेपाल रेडक्रसको विकासका लागि सकेको सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘जहाँ समस्या पर्छ, जहाँ दैविक विपत्ति पर्छ, त्यहाँ रेडक्रस सबैभन्दा पहिला पुगेको हुन्छ । नेपाल रेडक्रस सोसाइटीको भोलिन्टियरहरु पुग्छन् । त्यसरी अहिले रेडक्रसलाई चिनिएको छ । अहिले केही समय केन्द्रिय कार्यालयको केन्द्रिय पदाधिकारीमा केही समस्या आइरहेको छ । अब त्यो समस्यालाई पनि हामी बसेर समाधान गर्नुपर्छ । किनभने यो संस्था अन्तर्राष्ट्रिय संस्था हो । यो संस्थामा हामी सबै बसेर हामीले विवाद गर्दा छवि धमिलिएको छ । आज नेपालको रेडक्रसको पहिचान गुमेको छ । गुमेको पहिचानलाई हामी सहजीकरण गरी नयाँ तरिकाबाट अघि बढाउनुपर्छ । आफूले सो कुरामा गम्भीर भएर सहयोग गर्नेछु ।’
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले २०२३ सालदेखि रक्तदान सेवा देशव्यापी रुपमासञ्चालन गर्दै आइरहेको बताउनु भयो । उहाँले १२० भन्दा बढी रक्तसञ्चार केन्द्रमार्फत रेडक्रसले मानव जीवनमा रक्त सेवा पु¥याइरहेको बताउनु भयो । उहाँले रक्तदानका लागि सबै जुट्न पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल रेडक्रस सोसाइटीले २०२३ सालदेखि यो रक्तदान सेवामा हामी देशव्यापी रुपमा संलग्न छौँ । १२० भन्दा बढी रक्तसञ्चार केन्द्रमार्फत हामीले मानव जीवनमा रक्त सेवा पु¥याइरहेका छौँ । निरन्तर यो अभियानमा सहकार्यमा जुट्न आग्रह गर्न चाहन्छु ।’
महामन्त्री श्रेष्ठले समुदायमा नेपाल रेडक्रस सोसाइटीले आफ्नो विधानअनुसार रक्तदान सेवा आवश्यकताअनुसार सबैसँग सहकार्य गरी पु¥याइरहेको जिकिर गर्नुभयो ।