काठमाडौ-
गृहमन्त्री रमेश लेखकले सरकारसँग विपद् व्यवस्थापनका लागि सामग्रीहरुको अभाव रहेको बताउनुभएको छ ।
सोमवार सांसद डा. तोसिमा कार्कीले पेश गर्नुभएको ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, वृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा स्वीकार गर्नुभएको हो ।
मन्त्री लेखकले विपद्मा राहत र उद्धारका लागि पर्याप्त जनशक्ति पनि नभएको बताउनु भयो । उहाँले विपद्का लागि थप जनशक्ति र सामग्रीको व्यवस्था गर्ने काममा सरकार गम्भिरतापूर्वक लागिपरेको बताउनु भयो । चालु मनसुन अवधिका लागि नेपाली सेनाको १० हजार ८४७, नेपाल प्रहरीको १० हजार ५८५, सशस्त्र प्रहरी बल, नेपालको ९ हजार ९२४ जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राखिएको उहाँले बताउनु भयो ।
गृहमन्त्री लेखकले विपद् व्यवस्थापनका लागि सरकारले स्थानीय तहसम्म नै परिचालन हुनेगरी जोखिम न्युनिकरणको उपाय अवलम्वन गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग तालिमयुक्त जनशक्ति पनि छ । हामीसँग आवश्यक औजारअघि नै माननीय साथीले इक्वीपमेण्टको कुरा गर्नुभएको थियो । म एउटा के कुरासँग सहमत छु भने हामीसँग विपदको उद्धारलगायतका कामको निम्ति आवश्यक इक्वीपमेण्ट सबै छैन । यसको थप व्यवस्थापन गर्न आवश्यक छ । जनशक्ति हामीसँग छ । तर त्यो जनशक्ति पनि पर्याप्त छैन । त्यसलाई थप दक्ष बनाएर थप तालिमको व्यवस्था गरेर त्यसलाई अझै गतिशील बनाउन जरुरी छ भन्ने म आग्रह गर्न चाहन्छु । तापनि अहिले यस वर्षको मनसुन अवधिका लागि नेपाली सेनाको १० हजार ८४७, नेपाल प्रहरीको १० हजार ५८५, सशस्त्र प्रहरी बल, नेपालको ९ हजार ९२४ जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राखिएको छ ।
सुरक्षा निकायसँग विपद् प्रतिकार्यका लागि चाहिने औजार, उपकरणहरु तयारी अवस्थामा राखिएको छ । मैले आग्रह गरे–कतिपय पर्याप्त छैनन । र यसमा थप गर्नुपर्नेछ । र यसलाई सरकारले गम्भिरतापूर्वक लिएको छ ।’
मन्त्री लेखकले विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति निर्माणमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको बताउनु भयो ।