नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताउनुभएको छ ।

शनिवार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले ४०-५० करोड रुपैयाँभन्दा माथिका कुनैपनि भ्रष्टाचारका मुद्दामा दलहरुका बीचमा राष्ट्रिय सहमति हुने बताउनुभएको हो । उहाँले ठूला भ्रष्टाचारहरु एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरुको संलग्नता बिना नहुने बताउनु भयो । उहाँले ठूला दलहरुका बीचमा राष्ट्रिय सहमती गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताउनु भयो । उहाँले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवादतिर जान सकिने बताउनु भयो । उहाँले घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कृषिमा आत्मनिर्भर हुन नसकिने बताउनु भयो ।

 उहाँले भन्नुभयो – ‘.यसरी २५ वर्ष जतिमा जाँदाखेरी हामी मुलभुत रुपमा अलि समानतापूर्ण, अलि समानतापूर्ण अलि राष्ट्रिय जीवनमा । अहिलेको त राष्ट्रिय जीवन नै छैन भन्छु मैले । राष्ट्रिय जीवन नै बनेको छैन । हामी १०-१२ वर्षमा पुग्दाखेरी त्यस्तो राष्ट्रिय जीवन भएको मुलुकमा पुग्न सक्छौँ । त्यसपछि अरु ५० वर्षजति मेरो जिन्दगीमा मैले देख्दिनँ । सामान्यतया अब यो समाजवादी भयो है भन्ने बेलासम्म मेरो जिन्दगीमा मैले चाहीँ देख्दिनँ । त्यसमा एउटा मात्रै समस्या छ, आजैदेखि १५ वर्षमा हुन्छ ? हुँदैन । त्यो काम गर्नका लागि गर्ने कर्ता चाहिन्छ । पात्र चाहिन्छ । त्यो पात्र भनेको राजनीतिक पार्टी हो । त्यस्तो राजनीतिक पार्टी जो दलाल पुँजिवादबाट मुलभुत रुपमा मुक्त छ । मुलभुत रुपले दलाल पुँजिवादबाट मुक्त भएको त्यस्तो नेता होस् । त्यस्तो पार्टी होस् । त्यस्तो पार्टी होस् जसले, घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म यो होल कुरा, कृषिमा आत्मनिर्भर पनि भइदैनँ । कृषिमै पनि आत्मनिर्भर हुने हो भने त्यस्तो पार्टी निर्माण गर्नुपर्छ जहाँ भित्रबाट भ्रष्टहरु जन्मिदैनन् । भ्रष्टहरु पालित, पोशित हुँदैनन् । तिनीहरु संरक्षित हुँदैनन् । नेता बन्दैनन् । तर दुर्भाग्य के छ भने अहिले हरेकजसो पार्टी, ठ्याक्कै थाहा छैन मलाई ४०-५० करोडभन्दा ठूला कुनैपनि भ्रष्टाचारका मुद्दाहरुमा राष्ट्रिय सहमती हुन्छ । त्यहाँ काँग्रेस पनि हुन्छ । माओवादी पनि हुन्छ । एमाले पनि हुन्छ । मेरै पार्टी पनि होला । त्यो नभइकन अगाडी बढ्दै बढ्दैन । ठूलाहरुका बीचमा राष्ट्रिय सहमती गरेर तिनले पार्टी पनि सक्छन् । राजनीति पनि सक्छन् । र मुलुकपनि सकिराखेका छन् । त्यसो गर्दा हामी यहाँबाट मुक्त भएपछि बल्ल समाजवादतिर जान सकिएला भन्ने लाग्छ मलाई । यो कुरा निराशापूर्ण पनि सुनिन सक्छ । तर जतिसुकै निराशापूर्ण भएपनि तथ्य यही हो भन्ने लाग्छ ।’

महासचिव भुसालले नेपालमा लोकप्रियतावादले समाजवादलाई बिगारेको बताउनु भयो । उहाँले समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको आरोप लगाउनु भयो । चुच्चे रेल र टावरहरुको कुरा गरेर प्रधानमन्त्री ओलीले समाजवादको भाष्य बिगारेको उहाँको भनाई छ ।

 उहाँले भन्नुभयो – ‘अलिकति पपुलिज्मले पनि हाम्रो समाजवाद बिगा¥यो । यो व्यक्तिगत दोषारोपण जस्तो पनि सुनिन सक्छ, हाम्रो समाजवादको भाष्यलाई सबभन्दा बढ्ता त ओलीजीले नै बिगारिदिनुभयो । चुच्चे रेल आउँछ । काठमाडौंमा दुई वर्षमा आउँछ । अर्को वर्ष बेनी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर चुच्चे रेलसँग, टावरहरु सँग, के सँग भाष्य बिगारिदिनु भयो उहाँले । प्रधानमन्त्री भनेको मुलुकको सबभन्दा ठूलो शिक्षक हो भन्छु । शिक्षकले ५०-६० जना पढाउँला तर प्रधानमन्त्रीले देशको लाखौँ मानिसहरुलाई एक साथ कक्षा लिन्छ भन्छु के । म मन्त्री हुँदा सुनेको, कसरी बिगारिदिनु भयो भाष्य भन्दाखेरी उहाँको मैले पटक–पटक सुनेको, रोपे फलिहाल्छ नि भन्नुहुन्थ्यो के । के रोप्ने हो ? कहाँ रोप्ने हो ? कस्तो बिउ रोप्ने हो ? प्रविधि के हो ? पानी चाहिन्छ कि चाहिँदैन ? कति पाइन्छ ? अरु संरक्षण के गर्नुपर्छ ? बजार हुन्छ कि हुँदैन ? किसानले कति पाउँछ ? कर वा अन्तर्राष्ट्रिय सम्बन्ध यि सारा कुरा छोडिदिएर रोपे फल्छ नि । हाम्रो समाजवादको भाष्य यसरी पनि बिग्रियो ।’

उहाँले सरकारले दृढ संकल्प लिन सकेमा र सोही अनुसारको काम गर्न सकेमा ५ वर्षमा कृषि उपजमा आत्मनिर्भर हुन सकिने बताउनुभयो । त्यस्तै १२ वर्षमा गरिबी र बेरोजगारीलाई हटाउन सकिने उहाँले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्