काठमाडौँ –
संघीय संसदको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका अनियमितताविरुद्ध कारबाही गर्न माग गरेका छन् ।
डा. वाग्लेले मधेसको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा भइरहेका अनियमिततामा अख्तियार लगायतका सम्बन्धित निकाय मौन रहेको भन्दै सदनमार्फत ध्यानाकर्षण गराएका हुन् । सांसद वाग्लेले वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले ट्रयाक्टर खरिद, विद्यालयमा पंखा तथा शैक्षिक सामग्री खरिद, अर्काको छोरीलाई नागरिकता दिने र सरकारी कागजात कीर्ते गर्नेजस्ता अनियमिततामा कारबाही प्रक्रिया नबढाएको सदनलाइ बताएका थिए ।
उनले मेयर सिंहले अर्काको छोरीलाई नागरिकता दिएको लामो समय बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सा मौन रहेको जानकारी गराएका थिए । डा. वाग्लेले मेयर राजेशमान सिंहले अनियमितताविरुद्ध आवाज उठाउने स्थानीय प्रतिद्वन्द्वी नेता तथा कार्यकर्ताका व्यापार व्यवसायमा छापा मार्ने, अनुगमनको नाममा जरिवाना तिराउने, र विभिन्न बहानामा धाकधम्की दिने जस्ता कार्य गर्दै आएको विषयलाई सदनमा उठाएका थिए ।
उनले मेयर सिंहले सात सय कर्मचारीलाई बिना काममा खटाएर थपेको आर्थिक भार लगायतका विषयमा पनि सदनलाई जानकारी गराएका थिए ।
वीरगन्ज महानगरपालिकाका मेयरको गुण्डागर्दी र अनियमितताको तत्काल कारबाही गर्न अख्तियार लगायतका निकायलाई आग्रह गर्दै सांसद वाग्लेले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न सभामुख मार्फत माग गरेका छन् ।