तुलसी भण्डारी वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाले आम्दानीको पूणर् आधार नखुलाई महत्वकांक्षी योजना सहित आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्याक्रम सार्वजनिक गरेको छ । संविधानतः असार १० गते भित्र हरेक पालिकाले नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने उल्लेख छ । सोही अवधारणा अनुसार वीरगन्ज महानगरपालिकाले पनि निर्धारित समय भित्र नै अगामी आर्थिक बर्ष ०८०/०८१ को नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जले चालु आर्थिक बर्षकोभन्दा पनि नीति तथा कार्यक्रमको आकार १२ करोडले खुम्च्याएर ल्याएको छ ।
आकार नै खुम्च्याएर ल्याएको प्रस्तुत नयाँ नीति तथा कार्यक्रमको आम्दानीको आधार पनि ३५ करोड १२ लाख ४९ हजार अझै अपुग रहेको प्रस्तुत नीति तथा कार्यक्रम वितरित लिखित दस्तावेजले पुष्टि गरेको छ । यो नीति तथा कार्यक्रम अनुमानित नै रहे पनि आम्दानी र खर्चको भार भने समान हुनु पर्नेमा महानगरपालिका यसका चुकेको देखिन्छ । वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा ३५ करोड १२ लाख ४९ हजार आम्दानीको श्रोत खुलाइएको छैन ।
कुल विनियोजित बजेटको आकार भने अघिल्लो बर्षकोभन्दा कम रु. ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रहेको उप-प्रमुख आलमले महानगरको १३ औं नगर सभामा सार्वजनिक गरे । विनियोजित बजेट मध्ये चालु तर्फ रु.२ अर्ब ४८ करोड ८५ लाख ५ हजार र पूजिगत तर्फ ६८ करोड ८७ लाख १५ हजार विनियोजन गरेको उनले बताए । प्रस्तुत कुल विनियोजित बजेट अनुसार चालु तर्फ ७७ प्रतिशत र पूँजिगत तर्फ २२ प्रतिशत खर्चको भार उल्लेख गरिएको छ । कुल आम्दानी २ अर्ब ८६ करोड २२ लाख ९५ हजार मात्र उक्त विनियोजित बजेटका लागि आम्दानीका श्रोतहरु मध्ये आन्तरिक राजश्वबाट रु १ अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट रु १ अर्ब ३३ करोड २१ लाख, संघीय राजश्व बाँडफाँडबाट रु. २५ करोड २४ लाख ७० हजार, प्रदेश वित्तीय हस्तान्तरणबाट रु.४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बाँडफाँडबाट रु.२ करोड ८७ लाख व्यहोरिने उल्लेख छ । यो सबै रकम जोड्दा आम्दानी तर्फ भने कुल २ अर्ब ८६ करोड २२ लाख ९५ हजार मात्र पुगेको छ । आम्दानी र खर्चको सन्तुलन बराबर हुनु पर्नेमा महानगरको आम्दानी तर्फ ३५ करोड १२ लाख ४९ हजार अपुग देखिएको हो ।
सार्वजनिक बजेट विनियोजनमा केही सन्तुलन नदेखिए पनि आगामी बर्षका लागि वीरगन्ज महानगरपालिकाका नीति तथा कार्यक्रम निकै महत्वकाँक्षी छन् । महानगरका मुलभूत नीतिः महानगर प्रमुख सिंह सार्वजनिक नीति तथा कार्यक्रम पूर्व महानगरका नगरप्रमुख राजेशमान सिंहले महानगरले आगामी गर्ने मूलभूत नीति सार्वजनिक गरेका हुन् । सो नीतिमा दीगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण, गुणस्तरीय पूर्वाधार निर्माण, गुणस्तरीय शिक्ष-स्वास्थ्य, योजनाबद्ध शहरीकरणको विस्तार, स्वच्छ सफा र सुन्दर वीरगन्ज शहरको पहिचान स्थापित गर्न नीति तथा कार्यक्रम, धार्मिक तथा पर्यटकीय गन्तव्य, डिजिटल प्रशासनलाई प्रमुख प्राथमिकीकरण रहेको नगरप्रमुख सिंहले सार्वजनिक गरे ।
उक्त प्राथमिकताहरु कार्यान्वयन गरिने मूलभूल नीति रहेको उनको भनाइ छ । सेवाग्राहीले आइन्दा जुनसुकै ठाउँबाट भवन निर्माण ईजाजतको लागि आवेदन दिन मिल्ने र आफ्नो काम कुन तहमा पुगेको छ ? भनी हेर्न मिल्ने गरी Eectronic Buliding Permit System (EBPS) लागु गरी आधुनिकिकरण गरिने नीति वीरगन्ज महानगरको छ । त्यसै गरी महानगरभित्र पानीको सतह घट्दै गएकोले भवन निर्माण ईजाजत दिँदा अनिवार्य रुपमा तोकिएको Rain Water Harvesting प्रणाली अवलम्बन गर्नुपर्ने नीति पनि महानगरको छ । महानगर क्षेत्र भित्र व्यवसायीक प्लटिङ गर्नेहरुले अबदेखि अनिवार्य रुपमा प्लटिङ स्वीकृति लिनु पर्ने पनि महानगरको नयाँ नीतिमा उल्लेख गरिएको छ । व्यवसाय कर आ.व.को पौष मसान्त भित्र बुझाएमा १० प्रतिशत छुट, यस्तै राष्ट्रिय समाचार समितिसँगको समन्वयमा भोजपुरी भाषा प्रवद्र्धनका लागि भोजपुरी भाषामा पनि समाचार प्रकासित गराउन महानगरले आवश्यक सहयोग र पहल गर्ने, भोजपुरी कला मार्फत शहरको सौन्दर्यीकरणमा जोड दिइने पनि महानगरको आगामी नीतिमा उल्लेख छ । महानगरले युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई “विदेश हैन, बिजनेस” भन्ने भावना जागृत तुल्याउँदै स्वरोजगार उन्मुख बन्न प्रेरित गरिने नीति महानगरको प्रष्ट छ ।
प्रतिक्रिया लेख्नुहोस्