२०८२ असार १६ गते, सोमबार २३:४१

काठमाडौँ

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरूको आन्दोलन स्थगित नहुने स्पष्ट पारेका छन्। सोमबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले सरकारले इच्छाशक्ति देखाए केही दिनभित्रै विद्यालय शिक्षा विधेयकलाई टुङ्ग्याएर ऐन जारी गर्न सक्ने अवस्था रहेको बताए। उनले विद्यालय शिक्षा ऐन अन्तिम निष्कर्षमा पुगेपछि मात्र शिक्षकहरू आफ्नो कार्यक्षेत्रमा फर्कने जानकारी दिए।

अध्यक्ष सुवेदीले सभामुख देवराज घिमिरेसँगको भेटमा विधेयकमा सर्वसम्मति जुटेमा वैशाख १३ गते नै ऐन जारी गर्न सकिने कुरा राखेको बताए। उनले सरकारसँग २०७५, ०७८ र ०८० मा भएका विभिन्न सम्झौताहरूको कार्यान्वयनका लागि अहिले आन्दोलन भइरहेको उल्लेख गरे। सरकारले समयमै शिक्षकहरूको मागलाई नसुनेका कारण अहिले एक मात्र मागसहित आन्दोलनमा उत्रिनुपरेको उनको भनाइ थियो।

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अध्यक्ष सुवेदीले कक्षा १२ को परीक्षा केही समय रोक्नु नै उपयुक्त हुने धारणा व्यक्त गरे। प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरू उक्त परीक्षामा सहभागी नहुने निर्णय महासंघले गरिसकेको उनले जानकारी दिए। समस्या समाधान भएलगत्तै द्रुत गतिमा धेरै शिक्षकहरू उपस्थित भएर एसईईको उत्तरपुस्तिका परीक्षण गरिने र अन्य शैक्षिक गतिविधिहरूलाई अगाडि बढाइने उनले बताए।

शिक्षक महासंघको आह्वानमा विगत २० दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन जारी छ। शिक्षकहरूले सरकारसँग विगतमा भएका सहमतिहरूको पालना गर्दै तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य माग राखेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस