काठमाडौं –
चर्चित मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताहरूका लागि नयाँ ‘लग आउट’ फिचर ल्याउने तयारी गरेको छ। यो फिचरले प्रयोगकर्ताहरूलाई एप अनइन्स्टल नगरी वा डेटा नगुमाई आफ्नो प्राइमेरी अकाउन्टबाट लग आउट गर्ने सुविधा प्रदान गर्नेछ।
एन्ड्रोइड अथोरिटी र एसेम्बलडिबगको सहकार्यमा पछिल्लो एन्ड्रोइड बेटा भर्सन (२.२५.१७.३७) मा यो फिचर फेला परेको हो। यो सुविधा सेटिङ्सको ‘अकाउन्ट’ सेक्सनमा ‘लग आउट’ विकल्पका रूपमा उपलब्ध छ। फिचरमा ‘साइन आउट फ्रम डिभाइस’, ‘साइन आउट फ्रम डिभाइस एन्ड रिटेन डेटा’ र ‘क्यान्सल’ गरी तीन विकल्प समावेश छन्।

यो फिचर हाल आन्तरिक परीक्षण चरणमा रहेको र केही महिनाभित्र बेटा प्रयोगकर्तालाई उपलब्ध गराइएपछि सबै प्रयोगकर्ताका लागि सार्वजनिक गरिने अनुमान छ । यसले ह्वाट्सएपलाई फेसबुकजस्ता अन्य मेटा प्लेटफर्महरूसँग मिल्दोजुल्दो बनाउनेछ । जहाँ अकाउन्ट डिएक्टिभेट गर्दा पनि प्रयोगकर्ताको डेटा सुरक्षित रहन्छ ।
नयाँ लगआउट फिचर विशेषगरी डिजिटल ब्रेक लिन चाहने, एपका समस्या समाधान गर्न खोज्ने वा एउटै डिभाइसमा विभिन्न अकाउन्ट स्विच गर्न चाहने प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा छ ।