२०८२ असार १७ गते, मंगलवार ०१:३४

वीरगन्ज-

पछिल्लो एक महिनामा रौतहट जिल्लामा तीन जना नवविवाहिता महिलाको शंकास्पद मृत्युले गम्भीर चिन्ता उत्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले यी सबै घटनालाई शंकास्पद मानेर अनुसन्धान तीव्र पारेको छ।

कटहरियामा नवविवाहिता मृत फेला
कटहरिया नगरपालिका-१, भासेढवा गाउँमा मंगलबार साँझ २२ वर्षीया अल्का यादव आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी छन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीका अनुसार अल्का उत्तानो अवस्थामा मृत फेला परेकी थिइन् र उनले वान्ता गरेको देखिएको थियो, जसले घटनालाई शंकास्पद बनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली पुगेको थियो।

अल्काका श्रीमान अनकेश यादव र सासु ४६ वर्षीया शान्तिदेवी फरार रहेका छन्। प्रहरीले मृतकका ससुरा ५१ वर्षीय रामपुकार प्रसाद यादवलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। अल्काको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। माइती पक्षले श्रीमान, सासु र ससुराले कुटपिट गरी घाँटी थिचेर हत्या गरेको र घटनालाई आत्महत्या देखाउन खोजिएको दाबी गरेका छन्। डीएसपी कार्कीले पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणका आधारमा कारबाही अघि बढाइने बताए। फरार रहेका श्रीमान र सासुको खोजी तीव्र पारिएको छ।

दुई साता अघिको आत्महत्या दुरुत्साहन मुद्दा
दुई साताअघि कटहरिया-३, बडेरवा घर भई हाल कटहरिया बजारमा बस्ने अहमद राय भाटका २५ वर्षीय छोरा अरमान राय भाटमाथि आफ्नी श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको थियो। उनी हालसम्म फरार छन्।

पहिचान नखुलेको शवको रहस्य
जेठ १६ गते दुर्गा भगवती गाउँपालिका नजिकको खोला किनारको झाडीमा सुनका गहना र शृंगारले सजिएकी २४ वर्षीया एक नवविवाहिता महिलाको शव फेला परेको थियो। प्रहरीले यो घटनालाई पनि शंकास्पद मानेर अनुसन्धान गरिरहेको छ, तर मृतकको पहिचान र मृत्युको कारण अझै खुल्न सकेको छैन।

दाइजो र राजनीतिक संरक्षणको आशंका
स्थानीय बासिन्दाले दाइजोलगायत कारणले मधेश प्रदेशमा नवविवाहिता महिलाको हत्याका घटना बढ्दै गएको बताएका छन्। उनका अनुसार यस्ता जघन्य अपराधमा राजनीतिक संरक्षण र आर्थिक चलखेलका कारण दोषीहरू कारबाहीबाट उम्कने गरेकोले यस्ता घटना दोहोरिरहेका छन्।

प्रहरीको प्रतिबद्धता
इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी राजन कार्कीले यी सबै घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताए। “हामी कुनै पनि घटनालाई सामान्य रूपमा लिएका छैनौं। पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणका आधारमा दोषीलाई कानुनको कठघरामा ल्याइनेछ,” उनले भने।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस