२०८२ असार १७ गते, मंगलवार ०१:३८

सप्तरी-

सप्तरीको सुरुङा नगरपालिका–८, मल्हनमा टोलमा बिहीबार राति भएको डकैती र ५० वर्षीय कान्तलाल चौधरीको हत्याको घटनाको स्थलगत निरीक्षण गर्न मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी शनिबार बिहान घटनास्थल पुगेका छन्।

डिआइजी चतुर्वेदीले घटनास्थलको निरीक्षण गरी वस्तुस्थिति बुझेपछि सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई संलग्न दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन्। उनले पीडित परिवारलाई आश्वस्त पार्दै भने, “यो जघन्य अपराध हो, दोषीलाई छिट्टै कानुनी दायरामा ल्याइन्छ। मैले घटनास्थलको निरीक्षण गरी संलग्न पक्राउ गर्न थप सक्रिय हुन निर्देशन दिएको छु। सूक्ष्म अनुसन्धान भइरहेको छ, दोषी चाँडै पक्राउ पर्नेछन्।”

सप्तरी प्रहरी प्रमुख एसपी खतिवडाका अनुसार घटनालगत्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मगाइएको तालिमप्राप्त कुकुर (जंगे) को सहायताले सूक्ष्म अनुसन्धान सुरु गरिएको छ। शंकास्पद एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। घटनास्थलबाट तीन राउन्ड जीवित गोली र एउटा खोका पनि बरामद भएको उनले बताए।

घटना विवरणअनुसार, बिहीबार राति करिब १२ बजे डकैती गर्न आएको समूहलाई प्रतिकार गर्ने क्रममा कान्तलाल चौधरीमाथि गोली प्रहार भएको थियो। उनको ढाँड र घाँटीको बीचमा गोली लागेपछि घटनास्थलमै मृत्यु भएको थियो। डकैतीको प्रतिकार गर्ने क्रममा मृतकका भाइ नाता पर्ने ४० वर्षीय रामाकान्त चौधरीको टाउकोमा चोट लागेको थियो। उनको उपचारपछि घर फिर्ता भइसकेको छ।

डाका समूहले चौधरीको घरबाट करिब ५० हजार रुपैयाँ नगद, ५ तोला सुन र २ किलो चाँदीसहितका सामान लुटेर लगेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको गम्भीरतासाथ अनुसन्धान अघि बढाएको र दोषीलाई चाँडै कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस