२०८२ असार १७ गते, मंगलवार ०१:२०

भक्तपुर-

नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले देश अप्ठेरो परिस्थितिमा रहेको भन्दै सत्ताको नेतृत्व आफ्नो पार्टीले लिनुपर्ने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

कोइरालाले नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएको र उग्र दक्षिणपन्थी वा वामपन्थी नभएको उल्लेख गरे। उनले भने, “मध्यममार्गी पार्टी कमजोर भएमा देश अराजकतातिर जान्छ। त्यसलाई रोक्न नेपाली कांग्रेसले मात्र सक्छ।” उनले कांग्रेस सरकारमा भए पनि सत्ताको चाँबी वामपन्थीहरूसँग रहेको र त्यो चाँबी कांग्रेसले लिनुपर्नेमा जोड दिए।

“हामी सरकारमा छौँ, तर सत्ताको चाँबी हामीसँग छैन। सत्ताको चाँबी वामपन्थीसँग छ। त्यसलाई हामीले खोल्नुपर्छ,” उनले थपे। कोइरालाले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्ने बताउँदै प्रमुख प्रतिस्पर्धी नेकपा एमालेले गलत गरेमा त्यसको विरोध गर्नुपर्नेमा जोड दिए। “गलतलाई गलत भन्न नसक्ने कार्यकर्ता कांग्रेसको कार्यकर्ता हुन सक्दैन,” उनले भने।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस