जनकपुर-
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले ‘हेल्लो सिएम’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा रहेको प्रदेश सरकारले ‘जनताको कुरा मुख्यमन्त्रीसम्म’ पुर्याउने लक्ष्यका साथ यो कार्यक्रम ल्याएको हो। नीति तथा कार्यक्रममा जनताका गुनासो, सुझाव र समस्यालाई प्राथमिकतामा राखी सुशासन प्रवर्द्धन गर्ने उल्लेख छ। यो पहलले प्रदेश सरकारलाई जनतासँग जोड्ने रणनीतिलाई बलियो बनाउने देखिन्छ।

‘हेल्लो सिएम’ कार्यक्रमअन्तर्गत नागरिकहरूले फोन, सामाजिक सञ्जाल वा अन्य माध्यममार्फत आफ्ना गुनासो र सुझाव सिधै मुख्यमन्त्री कार्यालयमा पुर्याउन सक्नेछन्। यो कार्यक्रमले सरकारको जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्ने विश्वास गरिएको छ।
सरकारले गुनासो दर्ता, ट्र्याकिङ र समाधानका लागि सूचना प्रविधिमा आधारित विशेष पोर्टल वा ड्यासबोर्ड विकास गर्ने योजना बनाएको छ। यसका लागि आवश्यक संयन्त्र निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
मुख्यमन्त्री सतिशकुमार सिंहले भने, “हेल्लो सिएम कार्यक्रममार्फत हामी जनताको नजिक पुग्न चाहन्छौँ र जनअपेक्षा सम्बोधनमा गम्भीर छौँ।” उनले यो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
यो कार्यक्रम कार्यान्वयनमा आएपछि मधेश प्रदेशका जनताले सरकारसँग सिधा संवाद गर्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ।