देहरादुन–
उत्तराखण्डको केदारनाथमा आज तीर्थयात्रीहरू बोकेको एउटा हेलिकप्टरको आकस्मिक अवतरण गरिएको छ। प्राविधिक गडबडीका कारण बीच सडकमै हेलिकप्टर अवतरण गराउनु परेको हो। बीच सडकमा गुडिरहेको हेलिकप्टर ओर्लेको देख्दा मानिसहरूमा आतंक फैलिएको थियो। यस घटनाको भिडियो पनि भाइरल भएको छ, जसमा हेलिकप्टरको पछाडिको भागले एउटा कारलाई क्षति पुर्याएको देखिन्छ।
चारधाम यात्रा अन्तर्गत तीर्थयात्रीहरूलाई बोक्न क्रिस्टल कम्पनीको हेलिकप्टरले बडासु हेलिप्याडबाट केदारनाथका लागि उडान भरेको थियो। हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए। जानकारी अनुसार उडान भर्ने बित्तिकै प्राविधिक समस्या आएपछि सडकमै हेलिकप्टर अवतरण गराउनु परेको थियो। पाइलटले सुरक्षित स्थानमा अवतरण गर्ने प्रयास गरेका थिए।

हेलिकप्टरले उडान भरेको केही समयमै प्राविधिक समस्या आएको थियो। यद्यपि, स्थिति हेर्दा पाइलटले अन्तिम समयसम्म सुरक्षित अवतरणको प्रयास गरेको देखिन्छ। सडकमा पनि एक छेउबाट अर्को छेउसम्मको चौडाइमा हेलिकप्टरलाई सीधा राखिएको थियो। पाइलटले कुनै घर वा पसलबाट टाढा राखेर कम से कम क्षति होस् भनेर पूर्ण प्रयास गरेका थिए। यस दुर्घटनामा पाइलटलाई सामान्य चोट लागेको छ।
दुर्घटनामा हरियाणा नम्बर प्लेटको एउटा ट्याक्सी कार पनि क्षतिग्रस्त भएको छ। भिडियोमा स्पष्ट देख्न सकिन्छ कि गुडिरहेको अवस्थामा हेलिकप्टरको पछाडिको भाग कारमा खस्छ र लगातारको ठोकरले कार क्षतिग्रस्त हुन्छ। तथापि, सन्तोषको कुरा यो हो कि आकस्मिक अवतरणमा सबै यात्रु सुरक्षित छन्। यसको पछाडि प्राविधिक त्रुटि रहेको बताइएको छ।