काठमाडौँ –
कोलम्बियाको राजधानी बोगोटामा शनिबार विपक्षी सिनेटर तथा राष्ट्रपति पदका सम्भावित उम्मेदवार मिगुएल उरीबे तुर्बायमाथि जानलेवा गोली प्रहार भएको छ । फोन्टिबोन इलाकाको एक सार्वजनिक पार्कमा चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला भएको यो हमलामा उनी गम्भीर घाइते भएका छन् । ३९ वर्षीय उरीबेको अवस्था गम्भीर रहेको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
उरीबेको पार्टी ‘डेमोक्रेटिक सेन्टर’का अनुसार, हथियारधारी हमलावरहरूले उनलाई पछाडिबाट गोली हानेका थिए । घटनास्थलबाट प्राप्त भिडियोमा लगातार आठ गोलीको आवाज सुनिएको छ, जसमध्ये पहिलो गोली उरीबेको टाउकोमा पछाडिबाट लागेको देखिन्छ । सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूमा उरीबे रगतले लतपतिएको अवस्थामा देखिएका छन्, जसमा उनको टाउको र ढाडमा गम्भीर चोटहरू देखिन्छन् ।

कोलम्बिया सरकारले यो घटनालाई ‘आक्रमण’ भन्दै निन्दा गरेको छ । विदेशमन्त्री लौरा सराबियाले सामाजिक सञ्जालमा लेखेकी छन्, “हिंसा कहिल्यै समाधान होइन । मिगुएल उरीबे छिट्टै निको होऊन् र खतराबाट मुक्त होऊन् भन्ने कामना गर्छु ।” प्रहरीले गोली प्रहारको आरोपमा एक जनालाई पक्राउ गरेको छ र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । यो हमलाले कोलम्बियाको राजनीतिक वातावरणमा ठूलो तनाव सिर्जना गरेको छ ।