२०८२ असार १७ गते, मंगलवार ००:५३

पर्सा –

सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि पर्सा जिल्लाका सुनचाँदी व्यवसायीहरू आक्रोशित भएका छन् । नयाँ कर संरचनाले उपभोक्ता र व्यवसायी दुवैलाई गम्भीर असर पार्ने भन्दै पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालीगढ संघले कडा आपत्ति जनाएका छन् ।

संघहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यसअघि १० लाख रुपैयाँभन्दा माथिका गहनामा लाग्ने विलासिता कर हटाएर सबै मूल्यका गहनामा २ प्रतिशत भ्याट र हिरा तथा बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लागू गरिएकोमा आपत्ति जनाएका छन् । यो नीतिलाई उपभोक्तामाथि अन्यायपूर्ण आर्थिक भार भएको उनीहरूको आरोप छ ।

विज्ञप्तिमा सुनचाँदीका गरगहना नेपालको परम्परा, संस्कृति र सामाजिक जीवनसँग अभिन्न रूपमा जोडिएको वस्तु भएको उल्लेख गर्दै यस्तो करले सामान्य जनताको बचत र लगानीमा असर पर्ने बताइएको छ । व्यवसायीहरूले छिमेकी देश भारतको तुलनामा नेपालमा सुनचाँदीको मूल्य अत्यधिक भएको र यसले चोरी पैठारी, तस्करी र अवैध कारोबार बढाउने खतरा औंल्याएका छन् । उनीहरूले भने, “सुनको मूल्य आकाशिएको र बजार मन्दीमा रहेको बेला थप करले बजारमा झन् गिरावट आउने निश्चित छ ।”

नयाँ कर नीतिले लाखौँ व्यवसायी, कालीगढ र मजदुरको जीविकोपार्जनमा संकट ल्याउने र सुनचाँदी उद्योगलाई दीर्घकालीन रूपमा कमजोर बनाउने व्यवसायीहरूको चिन्ता छ । उनीहरूले सरकारसँग तत्काल संवाद र समन्वयमार्फत यो निर्णय पुनरावलोकन गर्न र वैकल्पिक उपाय खोज्न माग गरेका छन् ।

यो नीतिका कारण सुनचाँदी उद्योगमा पर्न सक्ने दीर्घकालीन प्रभावबारे बहस तीव्र बन्दै गएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस