वीरगन्ज-
लागुऔषधमुक्त समुदाय निर्माणका लागि स्थानीय जनप्रतिनिधि र प्रमुख सरोकारवालाहरूसँगको एकदिने छलफल कार्यक्रम आइतवार वीरगन्जमा सम्पन्न भएको छ । मनिला प्रतिष्ठान पर्साको आयोजना र वीरगन्ज महानगरपालिकाको सहयोगमा वीरगन्जको एक होटलमा आयोजित यो कार्यक्रममा लागुऔषध दुरुपयोगविरुद्ध सामाजिक जिम्मेवारी र सरोकारवालाहरूको भूमिकाबारे छलफल भएको हो ।
कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष आयुष भुजेलको अध्यक्षतामा भएको थियो भने सहजीकरण मन्टु गिरीले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष राजन केसीले लागुऔषध प्रयोगकर्ताहरूको लागि सामाजिक दायित्व र सरोकारवालाहरूको भूमिकाबारे विभिन्न बुँदाहरूमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका वडा प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालय पर्सा, सञ्चारकर्मीहरू र अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरूले लागुऔषध दुरुपयोग नियन्त्रण र समुदायलाई स्वच्छ र सुरक्षित बनाउन संयुक्त प्रयासको आवश्यकतामाथि जोड दिएका थिए ।
यो कार्यक्रमले लागुऔषधविरुद्धको अभियानमा स्थानीय स्तरमा जागरूकता र सहकार्य बढाउने अपेक्षा गरिएको छ ।