वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नं. १४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै आइतवार दिउँसो भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दिउँसो करिब ३:१० बजे गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा घाइते चारै जनालाई तत्काल बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा करिब ३० वर्षीय बिटु सर्राफलाई चिकित्सकले दिउँसो ३:५० बजे मृत घोषणा गरेका थिए । उनको टाउको, मुख र कानमा गम्भीर चोट लागेको थियो । घाइते हुने अन्यमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी ४० वर्षीय गणेश सर्राफको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । त्यस्तै, सोही स्थानका २० वर्षीय रतन सर्राफको बायाँ हात र शरीरमा मध्यम चोट र २१ वर्षीय बिटु सर्राफ (रामबाबु सर्राफका छोरा) को दायाँ खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवा भट्टका अनुसार दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिने प्रक्रिया चलिरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।