वीरगन्ज –
वीरगन्ज महानगरपालिका वडा नं. १४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै आइतबार दिउँसो करिब ३:१० बजे भएको कार दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्राका अनुसार दुर्घटनामा भारत, बिहारको नरकटियागञ्जका ३० वर्षीय बिटु सराफको मृत्यु भएको हो । बीआर ५५ बी ९१०४ नम्बरको कार तीव्र गतिमा गुडिरहेको अवस्थामा चालकले सन्तुलन गुमाउँदा सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते हुनेमा नरकटियागञ्जकै गणेश सराफ, रतन सराफ र बिटु सराफ (रामबाबु सराफका छोरा) रहेका छन् । घाइते सबैको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख मिश्राले बताए ।
प्रहरीले दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिने प्रक्रिया सुरु गरेको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।