सारांशः
|
वीरगन्ज –
आगामी मनसुन तथा मनसुनजन्य विपद्सहित प्राकृतिक र मानवजन्य विपद्हरूलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकामा स्थानीय समुदायको सक्रिय सहभागितालाई प्रोत्साहन गर्न “समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम” शुरू भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना र वीरगन्ज महानगरपालिकाको संयोजनमा मंगलबारदेखि महानगरपालिकाको सभाहलमा शुरू भएको २१ कार्य दिनको तालिममा ३० जना प्रशिक्षार्थी सहभागी छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह, विशिष्ट अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष बृज किशोर पटेललगायत उपस्थित थिए ।
कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले गरेका थिए । तालिमले स्थानीय समुदायलाई विपद् व्यवस्थापन र उद्धार कार्यमा सशक्त बनाउने विश्वास सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले व्यक्त गरे ।