२०८२ असार १७ गते, मंगलवार ००:५७
सारांशः

  • सङ्क्रमण फैलिँदै: जनवरी १ देखि जुन ८ सम्म ७२ जिल्लामा १,२५५ जना डेङ्गी संक्रमित भेटिएका छन्, सबैभन्दा धेरै काठमाडौँ, कास्की, सुनसरी र चितवनमा देखिएको छ।
  • मनसुन र जोखिम: मनसुन छिट्टै सुरु भएको र धेरै पानी पर्ने सम्भावनाले डेङ्गी फैलन सक्ने जोखिम बढेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
  • सावधानी र नियन्त्रण उपाय: लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीबाट बच्न व्यक्तिगत र सामुदायिक सावधानी, पानी जम्न नदिने र सरसफाइमा ध्यान दिन चिकित्सकले आग्रह गरेका छन्।

काठमाडौं –

मनसुन सुरु भएसँगै देशभर डेङ्गी सङ्क्रमण देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार जनवरी १ देखि जुन ८ सम्म १,२५५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ भने ७२ जिल्लामा यो रोग फैलिएको छ । काठमाडौंमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१ र पाल्पामा ५१ सङ्क्रमित फेला परेका छन् ।

ईडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले डेङ्गी नियन्त्रणका लागि नागरिक, समुदाय, सरकारी र गैरसरकारी संस्थाको समन्वय आवश्यक रहेको बताए । उनले भने, “यो वर्ष मनसुन छिट्टै सुरु भएको र धेरै पानी पर्ने अनुमानले सङ्क्रमण बढ्न सक्छ । लामखुट्टेको बासस्थान नष्ट गर्न र पानी जम्ने ठाउँ व्यवस्थापन गर्नुपर्छ ।”

डेङ्गी एडिस एजिप्टाई पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, पानीको ट्याङ्की सफा राख्ने, झुलको प्रयोग गर्ने र फोहोरजन्य सामग्री व्यवस्थापन गर्न विज्ञहरूले सुझाएका छन् । डा. दाहालले तीनै तहको सक्रिय सहभागिताले सङ्क्रमण र मृत्युदर घटाउन सकिने बताए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस