२०८२ असार १७ गते, मंगलवार ०१:०३
सारांशः

  • २,१०२ स्वास्थ्य जनशक्ति थपिने: स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालसहित देशभरका संघीय अस्पतालहरूमा २,१०२ स्वास्थ्यकर्मी थप्ने प्रक्रिया अघि बढाएका छन्।
  • नारायणीसहित प्रमुख अस्पतालमा दरबन्दी वृद्धि: नारायणी अस्पतालमा ३१८, वीर अस्पतालमा ७७७, भरतपुरमा ४६५ लगायत अन्य संघीय अस्पतालहरूमा जनशक्ति थपिनेछ।
  • सेवा सुधार र स्थायी संरचना लक्ष्य: यो पहलले अस्पतालको सेवा सुधार, अस्थायी दरबन्दी घटाउने र स्थायी जनशक्ति व्यवस्थापनमा सहयोग पुग्ने मन्त्री पौडेलको विश्वास छ।

वीरगन्ज-

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पर्साको नारायणी अस्पतालसहित देशभरका संघीय अस्पतालहरूमा २,१०२ स्वास्थ्य जनशक्ति थप्ने प्रक्रिया अघि बढाएका छन् । मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा गठित प्रशासन सहसचिव ऋषि आचार्य नेतृत्वको कार्यदलले तयार पारेको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरेका छन् । प्रतिवेदनअनुसार नारायणी अस्पतालमा ३१८ स्वास्थ्य जनशक्ति थपिनेछन् ।

प्रतिवेदनले वीर अस्पतालमा ७७७, परोपकार प्रसूति अस्पतालमा १७३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३१७, कोशी अस्पतालमा १७२, भेरी अस्पतालमा १७९, गजेन्द्रनारायण स्मृति अस्पतालमा १४४, भरतपुर अस्पतालमा ४६५, कान्ति बाल अस्पतालमा ७८, डडेलधुरा अस्पतालमा ५२ र औषधि व्यवस्था विभाग तथा प्रयोगशालामा ४० जनशक्ति थप्ने प्रस्ताव गरेको छ । साथै, वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा ९० जनशक्ति थप हुनेछन् ।

मन्त्री पौडेलले प्रतिवेदन ग्रहण गर्दै सरकारी अस्पतालहरूमा जनशक्ति अभावले सेवा प्रवाहमा भएको कठिनाइ केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे । उनले भने, “यो प्रतिवेदनले जनशक्ति व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिनेछ । सम्बद्ध मन्त्रालयसँग समन्वय गरी कार्यान्वयन गरिनेछ ।”

यो संगठन संरचना पाँच वर्षसम्म वार्षिक सर्वेक्षण गरी अद्यावधिक गरिने मन्त्री पौडेलले बताए । यसले अस्थायी र करार दरबन्दी घटाएर स्थायी जनशक्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । २०६६ पछि विस्तृत सर्वेक्षण नभएकोमा यो प्रतिवेदनले जनशक्ति पूर्ति र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस