इजरायली सुरक्षामन्त्री इतामार बेन–ग्भिर र वित्त मन्त्री बेजालेल स्मोत्रिचमाथि वेस्ट बैंकमा प्यालेस्टिनीहरूमाथि बारम्बार हिंसा भड्काएको आरोपमा अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, नर्वे र बेलायतले यात्रा प्रतिवन्ध लगाएका छन् ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
अरब लिग (एएल) का महासचिव अहमद अबुल–घेइटले बुधवार पाँच पश्चिमी देशहरूले दुई इजरायली मन्त्रीहरूमाथि लगाएको संयुक्त प्रतिवन्धलाई स्वागत गर्नुभएको छ । इजरायली सुरक्षामन्त्री इतामार बेन–ग्भिर र वित्त मन्त्री बेजालेल स्मोत्रिचमाथि वेस्ट बैंकमा प्यालेस्टिनीहरूमाथि बारम्बार हिंसा भड्काएको आरोपमा अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, नर्वे र बेलायतले यात्रा प्रतिवन्ध लगाएका छन् ।
मंगलवार यी पाँच देशका विदेश मन्त्रीहरूको संयुक्त वक्तव्यमा उक्त प्रतिवन्धको कुरा उल्लेख छ । बुधवार जारी एएलको वक्तव्यअनुसार अबुल–घेइटले यो प्रतिवन्धलाई महत्वपूर्ण भएको उल्लेख गर्दै कब्जा गर्ने देशको सरकारका अधिकारीहरूलाई स्पष्ट हिंसा भड्काउने कार्य र वेस्ट बैंकमा प्यालेस्टिनीहरूमाथि आक्रमण गर्ने इजरायली बस्तीवासीहरूलाई संरक्षण दिने कार्यको लागि जिम्मेवार ठहराउन महत्वपूर्ण कदमका रुपमा उल्लेख गर्नुभयो ।
उहाँले यो प्रतिवन्धले वेस्ट बैंक र गाजा स्ट्रिप दुवैमा युद्ध अपराध र अन्तर्राष्ट्रिय मानवीय कानूनको व्यापक उल्लंघन गर्ने दक्षिणपन्थी सरकारी अधिकारीहरूको अपराधी कार्यलाई उजागर गरेको बताउनु भयो । यो कदम प्यालेस्टिनीहरूमाथिका युद्ध अपराधहरूमा अन्तर्राष्ट्रिय अडानलाई सन्तुलनमा ल्याउने र अपराधीहरूलाई जिम्मेवार बनाउन व्यावहारिक कदम चाल्ने दिशामा महत्वपूर्ण कदम भएको वक्तव्यमा उल्लेख छ ।