♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज –
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश डा. खुसीराम थारुमाथि कालो मसी प्रहार भएको घटनापछि अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। इजलासमै भएको यो घटनाको १२ घण्टा नबित्दै पर्सा प्रहरीले न्यायाधीशका अङ्गरक्षकसहित त्यहाँ खटिएका सुरक्षाकर्मीको टोलीलाई फिर्ता बोलाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले उच्च अदालतको अनुगमनपछि सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको जानकारी दिए। “आज बिहान उच्च अदालतको अनुगमन गरेका थियौँ, त्यसपछि त्यहाँ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर करिब दुई दर्जनको नयाँ टोली खटाएका छौँ,” उनले भने। प्रहरी सहायक निरीक्षक (असई) को कमान्डमा रहेको पुरानो टोली फिर्ता बोलाइएको र उच्च अदालतका १३ जना न्यायाधीशका सबै अङ्गरक्षकलाई समेत फिर्ता गरिएको मिश्रले बताए।

घटनापछि अदालतमा आवतजावत गर्नेहरूमाथि कडा निगरानी बढाइएको छ। प्रवेशद्वारमा कडाइका साथ जाँच गरेर मात्र इजलासमा प्रवेश गर्न दिइएको प्रहरी प्रमुख मिश्रले उल्लेख गरे। यो घटनाले न्यायाधीशको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै नेपाल बार एशोसिएसन र न्यायाधीश समाजले विरोध जनाएका छन्।